काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संशोधन नभई संसद्ले पास नगर्ने बताउनुभएको छ ।

माओवादी केन्द्रको भ्रातृ सङ्गठन योङ कम्युनिस्ट लिग (वाईसीएल)को केन्द्रीय समिति बैठकलाई मङ्गलबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमसीसी सम्झौता यथास्थितिमा पास नगर्ने बताउनुभएको हो । बैठकमा सहभागी वाईसीएल केन्द्रीय सदस्यका अनुसार प्रचण्डले संशोधन नगरी एमसीसी पास नहुने बताउनुभएको थियो ।

बैठकमा उहाँले भन्नुभयो, “अमेरिकालाई पत्र पठाएका छौँ, त्यसको जवाफ आएन । जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन ।” उहाँले वाईसीएललाई एकीकृत र एक ढिक्का भएर अघि बढ्न निर्देशन दिनुभयो । प्रचण्डले आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनसँगै पार्टीले धेरै कुरा तय गर्ने बताउनुभयो ।

वाईसीएल संंयोजकमा सुमन देवकोटालाई चयन गरिएको छ । सह–संयोजकको जिम्मेवारी भने सुबोधराज शेर्पालीलाई प्रदान गरिएको छ । यसअघि सम्मेलन सम्पन्न भए पनि पदाधिकारी तोक्न सकेको थिएन ।

सम्बन्धित खबरहरु