काठमाडौं । आगामी शुक्रबार १ बजे बस्ने गरी प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

अब अर्को बैठक २५ गते शुक्रबार दिउँसो १ बजे बस्ने सभामुख अग्नीप्रसाद सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

आज बुधबार बसेको पहिलो र दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले नाराबाजीसहित अवरोध गरेपछि सभामुख सापकोटाले बैठक स्थगित गर्नुभएको हो ।

निर्धारित ४ बजेका लागि बोलाइएको बैठक ४ः३३ बजे शुरुभएको थियो । नाराबाजीका बीच १० मिनेट बसेको बैठक पन्ध्र मिनेटका लागि स्थगित भयो ।

पुनः ५ बजे शुरुभएको दोस्रो बैठक पनि १५ मिनेट चलेर पन्ध्र मिनेटका लागि स्थगितभयो ।

पार्टी विभाजनमा सभामुख सापकोटाले सहायक भूमिका निर्वाह गर्नुभएको आरोप लगाउँदै एमाले सांसदहरुले रोष्टम घेराउ गर्दै नाराबाजी गर्नुभयो ।

नाराबाजीकाबीच बैठक सञ्चालन गर्न सहज नभएपछि सभामुख सापकोटाले बुधबारको बैठक स्थगित गर्नुभयो ।

विरोधकैबीच दोस्रो बैठकमा सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नुभयो ।

मनोनयन भएका सांसदहरुमा चन्द्रकान्त चौधरी, मानबहादुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, लालबाबु पण्डित, सत्या पहाडी, सरलाकुमारी यादव रेणुकुमारी यादव रहनुभएको छ ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुको माग सुनुवाई नभएसम्म संसद बैठक अवरुद्ध गर्ने काम जारी राख्ने बताउनुभयो ।

सम्बन्धित खबरहरु