काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज सभामुख अग्निप्रसाद सापकोटामाथि प्रश्न उठाउँदै संसदमा नाराबाजी गर्यो ।

त्यसबीचमा नेकपा एमालेकी एक सांसद रोष्टममै उक्लिने प्रयास गर्नुभयो ।

प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिन बुधबारको पहिलो र दोस्रो बैठक एमाले सांसदहरुले अवरुद्ध गर्नुभएको हो ।

बैठकपछि सहमतिको प्रयासमा छलफल पनि भएको थियो, तर सभामुख सापकोटाले सहयोग गरे गर्नुस्, नगरे प्रक्रिया अघि बढाउँछु भनेर जानुभयो ।

तेस्रो बैठक सुरु हुनासाथ सभामुख सापकोटाले गृहमन्त्री बालकृष्ण खाँडलाई राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्न समय दिनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगै पहिलो लहरमा बस्नु भएका गृहमन्त्रीलाई रोक्न अघि बढेका एमाले सांसदहरुलाई मर्यादापालकले रोक्न खोजिरहेका थिए । त्यसक्रममा एमाले सांसद गंगा चौधरी भने रोष्टममै उक्लिने प्रयास गर्नुभयो ।

एमालेका एक सांसदका अनुसार उहाँले गृहमन्त्रीलाई जसरी पनि रोक्छु भनेर जानु भएको थियो ।

त्यही क्रममा उहाँ मर्यादापालकलाई धकेल्दै रोष्टममै उक्लिन खोज्नुभयो । चौधरीले पनि त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुभयो ।

उहाँले गुरिल्ला सभामुखलाई रोक्न नसकिएको उल्लेख गर्नुभएको छ ।

गृहमन्त्रीलाई रोक्न खोजेको मर्यादापालक लगाएर छेकियो । त्यही आक्रोशमा गृहमन्त्रीलाई रोक्न प्रयास गर्दा धकेलाधकेल भएको हो ।

सम्बन्धित खबरहरु