काठमाडौं । पाकिस्तान मुस्लिम लिग(नवाज)की नेतृ मरियम नवाजले पाकिस्तानले अफगानिस्तानका नागरिकको चाहना स्वीकार्नुपर्ने बताउनुभएको छ । उहाँले पाकिस्तानले अफगानिस्तानको आन्तरिक मामीलामा हस्तक्षेप गर्न नहुने बताउनुभयो ।

इस्लामावादमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै उहाँले पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायसँग संयुक्त रुपमा युद्ध पीडितको पुर्नस्थापना र पूर्बाधार पुर्ननिर्माणमा सामेल हुनुपर्ने बताउनुभयो ।

सयौं अफगान काबुलस्थित पाकिस्तान दूताबास अगाडि विरोध प्रदर्शन गरेको भोलिपल्टै पाकिस्तानको बिपक्षी नेतृ मरियमको यस्तो टिप्पणी आएको हो । अफगानले विरोध प्रदर्शनको क्रममा आन्तरिक मामीलामा हस्तक्षेप नगर्न र तालिबानलाई सहयोग गर्न बन्द गर्न नाराबाजी गरेका थिए ।

अर्कोतिर तालिबानले हिजो सरकार गठन गरेका छन् । उनीहरुले गठन गरेको सरकार उदार नभएको अर्थात् कडा खालको भएको भन्दै त्यसको विरोध भएको छ ।

केही दिनअघि मात्र पनि तालिबानले सरकारमा महिलाको प्रतिनिधित्व गराउनुपर्ने माग गर्दै महिलाले विरोध प्रदर्शन गरेका थिए । सो प्रदर्शनमा तालिबानले अश्रुग्यास हान्न लगाएका थिए । यसअघि तालिबानले उदार खालको र समावेशी सरकार बनाउने भनेका थिए ।

व्यवहारमा त्यसो हुन नसकेको भन्दै विरोध कायमै रहेको बताइएको छ । तालिबानको सरकारका विरुद्धमा अपगानिस्तानका विभिन्न सहरमा अहिले पनि विरोध जारी रहेको छ । हेरातमा भएको यस्तै विरोधका क्रममा दुई जनाको ज्यान पनि गएको थियो ।

उनीहरुले शुरुमै समावेशी खालको सरकार बनाउने र त्यसमा महिला सहभागिता पनि हुने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । अगष्ट १५ मा अफगानिस्तानका तालिबानीले यहाँको सत्ता कब्जा गरेका थिए । आफ्नो सैन्य शक्तिद्वारा सत्ता कब्जा गरेका उनीहरुले हिजो मात्र नयाँ सरकार घोषणा गरेका थिए ।

सम्बन्धित खबरहरु