काठमाडौं । आज हरितालिका तीज पर्व हर्षल्लासका साथ मनाइँदैछ । बुधबार दर खाएसँगै चार दिने तीज पर्व सुरु भएको छ । हिन्दु महिलाहरुको महान् चाड हरितालिका तीजको व्रत बस्न अघिल्लो दिन दर खाने प्रचलन छ ।

[caption id="" align="aligncenter" width="2560"] File Photo[/caption]

यद्यपि कोरोना महामारी रहेकाले तीजको दिनमा भीडभाड नगर्न चिकित्सकले सुझाएका छन् । तीजको दिन निराहार व्रत बस्ने भएकाले त्यसका लागि शक्ति प्राप्त गर्न अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने गरिन्छ ।

माइतीले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा भए पनि यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायम रहेका कारण धेरै महिलाले सजगताका साथ तीज मनाउनुपर्ने बाध्यता रहेको छ । चाडपर्व मनाउनुपर्छ, रमाइलो पनि गर्नुपर्छ तर कुनै पनि नियम वा स्वास्थ्यको मापदण्डहरूलाई बिर्सनु हुँदैन ।

दर खाँदा स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने तत्व नखान तथा अखाद्य वस्तु, रङ हालेका मिठाई तथा विषादी हालेका तरकारी र फलफूल नखान सल्लाह दिइन्छ । सजावटमा राखिएका मिठाई तथा फलफूलभन्दा घरमै बनाइएका ताजा परिकार खाएर तीज मनाउन विज्ञहरु बताउँछन् ।

तीज भन्दैमा कोरोना नलाग्ने भन्ने हुँदैन, त्यसैले स्वास्थ्य मापदण्ड पालना गर्नु आवश्यक छ । नेपाल सरकारले पूर्ण रूपमा निषेधाज्ञा खोले पनि कोरोनाको नयाँ भेरियन्टको जोखिम घटेको छैन । सबैले पूर्ण रूपमा खोप पनि प्राप्त गरेका छैनन् त्यसैले आफै सजक हुनुपर्छ ।

सकेसम्म भीडभाड भएको ठाउँमा जानु हुँदैन र बिनामास्क कहीँ कतै नजान अनुरोध गरिएको छ । विशेष गरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको ज्योतिषी विशाल गौतमले जानकारी दिनुभयो ।

महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रूपमासमेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् ।

हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना फैलने त्रासले पशुपतिनाथ मन्दिर वैशाख पहिलो सातादेखि नै बन्द गरिएको छ । तीज पर्वको अवसरमा सरकारले यो वर्ष पनि महिलालाई बिदा दिएको छ ।

सम्बन्धित खबरहरु