काठमाडौं । नेपालको चार दिने भ्रमणका लागि अमेरिकी मिलेनियम च्यालेन्ज कोअपरेशन एमसीसीका उपाध्यक्ष फतेमा सुमार नेपाल पुग्नु भएको छ ।

उहाँले नायब उपाध्यक्ष जोनाथन बु्रक्स सहितको टोली लिएर काठमाडौं पुग्नु भएको हो ।

नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बीच मिलेनियम च्यालेञ्ज सम्झौता कम्प्याक्टमा द्विपक्षीय सम्झौता भएको थियो ।

त्यसपछि एमसीसीबाट यो तहमा पहिलो पटक भएको भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ ।

अमेरिकी सरकारका तर्फबाट एमसीसी र नेपालका तर्फबाट अर्थमन्त्रालयबीच सम्झौता भएको हो ।

यसैबीच अमेरिकी सरकारबाट मिलेनियम च्यालेन्ज कम्प्याक्टमार्फत नेपाललाई प्रदान गरिने ५० करोड अमेरिकी डलर अनुदान सहयोगबारे नेपाल सरकारबाट सोधिएका प्रश्नको जवाफ मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)ले दिएको छ ।

अर्थमन्त्रालयमार्फत सोधिएका एकीकृत स्पष्टीकरण प्रश्नमा नेपालस्थित अमेरिकी दूतावासमार्फत मिलेनियम च्यालेन्ज कर्पोरेसनका जवाफ शीर्षकमा अङ्ग्रेजी र नेपाली दुवै भाषामा दिइएको हो ।

एमसीसीका उपाध्यक्ष फातेमा जेङ सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गरी प्रधानमन्त्री शेरबहादुर देउवालगायतलाई बोधार्थ दिइएको जवाफमा सरकारले सोधेका सबै ११ प्रश्नको बुँदागत जवाफ दिइएको छ ।

सरकारले अर्थमन्त्रालयको तर्फबाट गत साता पत्र लेख्दै एमसीसीबारे उठेका विभिन्न विवादित सवालहरूबारे स्पष्ट जवाफ दिन अनुरोध गरेको थियो ।

नेपालमा एमसीसी सैन्य सहयोगको हिस्सा रहेको भन्ने आम बुझाइ रहेको सन्दर्भमा सरकारले स्पष्ट पार्न सोधेको प्रश्नको जवाफमा एमसीसीले नेपाललाई गर्न लागेको सहयोग सैन्य क्षेत्रसँग सम्बन्धित नभएको जनाएको छ ।

एमसीसीको जवाफमा यो सहयोग हिन्द–प्रशान्त रणनीतिअन्तर्गत नभएको पनि उल्लेख छ ।

सम्बन्धित खबरहरु