दैलेख । दैलेखमा ग्यास र पेट्रोल ( Gas and petrol ) भएको पुष्टि भएको छ । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो ।

चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको उल्लेख छ ।

चिनियाँ टोलीले प्रतिवेदन पठाएपछि उत्खननका लागि थप प्रक्रिया अघि बढाइएको विभागका भूगर्भविद् डा. सुधीर रजौरेले बताउनुभयो ।

‘सर्भे गरिएको स्थानमा ग्यास र पेट्रोल छ भन्ने प्रमाणित भयो,’ उहाँले बताउनुभयो, ‘अब कुन भूभागमा कति परिमाणमा पेट्रोलियम पदार्थ वा ग्याँस छ भनेर अन्तिम सर्भे हुनेछ ।’

कोरोना भाइरस सङ्क्रमणको कारण देखाउँदै विज्ञ तथा प्राविधिकको टोलीलाई चीन सरकारले आउने अनुमति दिएको छैन । अहिले विज्ञ टोली चीनको प्राकृतिक स्रोत मन्त्रालयको अनुमति कुरेर बसेको उहाँले बताउनुभयो ।

‘चारवटा क्षेत्रमा गरिएको सर्भेको नतिजा सकारात्मक देखिएको छ, टोली आउनासाथ धमाधम काम शुरु हुन्छ,’ रजौरेले बताउनुभयो

दुवै देशका सरकारबीच जीटुजी सम्झौताअनुसार काम शुरु भएकाले यसलाई निरन्तरता पाउने विभागले जनाएको छ ।

‘विस्तृत सर्भे र ड्रिलिङको काम पनि अहिलेसम्म सकिन्थ्यो होला,’ उहाँले थपे, ‘कोभिडका कारण झन्डै डेढ वर्ष अन्वेषणको काममा ढिलाइ भएको छ ।’

दैलेखका विभिन्न ठाउँमा २०७६ असोजदेखि अन्वेषणको काम शुरु गरिएको थियो । विभागले श्रीस्थान, पादुका, कोटिला, दैलेख बजार तथा कर्णाली राजमार्ग आसपासका क्षेत्रमा ड्रिलिङको काम सकिएको जनाएको छ ।

करीब १० वर्षअघि पनि दैलेखमा बलेको ग्याँसकै कारण नेपालको कुनै भूभागमा पेट्रोलियम पदार्थ हुनसक्छ भन्दै केही अन्तर्राष्ट्रिय कम्पनीले नेपालका विभिन्न १० जिल्लामा अन्वेषण शुरु गरेका थिए ।

विभिन्न कारणले अन्वेषणका काम हुन नसकेपछि सरकारले सम्झौता रद्द गरेर चीनसँग नयाँ सम्झौता गरेको थियो । तत्कालीन समयमा ७२ लाख बढी अमेरिकी डलर खर्च गरिएको खानी तथा भूगर्भ विभागको तथ्यांकमा उल्लेख छ । रासस

सम्बन्धित खबरहरु