काठमाडौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ( Millennium Challenge Corporation MCC ) की उपाध्यक्ष फतिमा सुमारले पहिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।

काठमाडौंमा आएर दुतावास पुगे लगत्तै उहाँ ओलीलाई भेट्न निवास बालकोट पुग्नुभएको हो ।

बिहीबार बिहान कतार त्रिभुवन विमानस्थलमा ओर्लिनुभएकी सुमारले दिउँसोदेखि भेटघाटलाई तिव्रता दिनुभएको छ ।

उहाँको सबैभन्दा पहिलो भेट प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री ओलीसँग भयो । ओलीलाई भेट्न सुमार दिउँसो उहाँको निवास बालकोट नै पुग्नुभयो । उहाँसँगै एमसिसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि हुनुहुन्छ ।

अध्यक्ष ओली र सुमारबीचको भेटमा नेकपा एमालेका नेताहरू बिष्णु रिमाल र राजन भट्टराई पनि सहभागी भएको देखिन्छ ।

यसअघि बुधबारमात्रै एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले एमसिसी पारित गर्ने जिम्मा आफूहरूको नभएको सांसदहरुलाई स्पष्ट पार्नुभएको थियो । ओली नेतृत्वमा सरकार हुँदा एमसिसी संसदमा पेश भएको थियो।

एमसिसीबारे विभिन्न कोणबाट प्रश्न उठिरहेका बेला सुमार नेपालका राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्न काठमाडौं आइपुगेको देखिन्छ । एमाले नेतृत्वको सरकारमापनि एमसीसी पारित गर्ने प्रयास गरिएको थियो ।

तर त्यो बेला एमसीसी परिमार्जन गरेर मात्र पारित गर्नेगरी थाँति राखियो । अहिले संसदमा अघि बढ्ने संकेत देखिन्छ । यसका लागि नै एमसीसीकी उपाध्यक्ष फतिमाले सत्तारूढ दलका नेताहरूलाई पनि भेट्ने कार्यक्रम छ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँको भेट शुक्रबारका लागि तय भएको देउवाको सचिवालयले जनाएको छ।

एमसिसीबारे पछिल्लो समय नेपालमा विरोध प्रर्दशन भइरहेकाले नेपाल भ्रमणमा आएका एमसिसी पदाधिकारीहरूको सुरक्षालाई ध्यानमा राखी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ भने मुख्य चोकहरूमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक(आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट) मा द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलो पटक भएको भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ।

सम्झौतालाई संसदबाट अनुमोदन गराएर मात्र काम अघि बढाउने एमसीसीको अडान छ ।

सम्बन्धित खबरहरु