काठमाडौ । नेपाली कांग्रेसको महाधिवेशन स्थगित गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कोरोनाको कारण देखाएर महाधिवेशन रोक्न माग गर्दै रिट दायर गर्नुभएको थियो । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेज गर्ने आदेश दिएको हो ।

कांग्रेसको महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । हाल विभिन्न जिल्लामा वडा अधिवेशन चलिरहेको छ । वडापछि पालिका, जिल्लाको अधिवेशन तय भएको छ ।

कांग्रेसमा क्रियाशील सदस्य विवाद अझै सुल्झिएको छैन । यो विवादले गर्दा चुनाव केही धकेलिएको थियो । सभापति शेरबहादुर देउवाकै जिल्लामा विवाद बल्झिएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा २५ भदौका लागि तोकिएको वडा अधिवेशन रोक्न माग गरेको छ ।

बिहीबार पौडेलसहितका नेताहरुले देउवालाई भेटेर जिल्ला कार्यसमितिको असहमतिकाबीच एकपक्षीय रुपमा अधिवेशनको मिति तोकिएको भन्दै रोक्न माग गरेको बुझिएको छ ।

‘जिल्ला कार्यसमितिसँग समन्वय नै नगरी एकपक्षीय रुपमा निर्वाचन अधिकृतले वडा अधिवेशनको मिति तोक्नु अनुचित हो,’ पौडेल समूहका नेता अर्जुननरसिंह केसीले भन्नुभयो, ‘तुरुन्त सभापतिले हस्तक्षेप गरेर अधिवेशन रोक्न निर्देशन दिनुपर्छ र क्रियाशील सदस्यतामा देखिएको विवाद टुंग्याउनुपर्छ भनेर हामीले ध्यानाकर्षण गरायौं ।’

सम्बन्धित खबरहरु