काठमाडौं । एमसीसी उपाध्यक्ष नेपाल भ्रमणमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीचमा मन्त्रिपरिषद् विस्तारलगायत सरकारको गतिविधिबारे छलफल भएको हो ।

यसअघि बिहान पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाल र यादवबीचमा एमसीसी र मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।

बालुवाटार बैठक दिउँसो ३ बजेदेखि जारी रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निजी सचिवालयले जानकारी दिएको छ ।

नेपाल भ्रमणमा आउनु भएकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले राजनीतिक दलका नेताहरुलाई भेटेर एमसीसी सैन्य रणनीति अन्तर्गत नभएको स्पष्टीकरण दिनुभयो ।

एमसीसीलाई लिएर ध्रुवीकरण बढेका बेला उपाध्यक्ष सुमार नेतृत्वको टोली बिहीबार काठमाडौं आएको हो । टोलीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई छुट्टाछुट्टै भेटेर यस्तो बताएको हो ।

सम्बन्धित खबरहरु