काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारले राजनीतिक भेटघाट तीव्र पार्नुभएको छ ।

चार दिने नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी उपाध्यक्ष फतिमा सुमारले राजनीतिक भेटघाट तीव्र पार्नुभएको हो ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर राजनीतिक भेट शुरु गर्नुभएकी उहाँले आज सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्नु भएको छ ।

अध्यक्ष प्रचण्डलाई भेट्न उहाँ खुमलटार पुग्नु भएको हो । एमसीसीको विरोध गर्दै आउनु भएका प्रचण्डलाई उपाध्यक्ष फतिमाले एमसीसीबारे विश्वस्त गराउने जनाइएको छ ।

उहाँले प्रचण्डलाई सम्झाउने प्रयासका साथै एमसीसी पारित गराउने वातावरण मिलाउन आग्रह गर्नुभयो । उहाँहरुबीच झन्डै एक घण्टा भेटवार्ता भएको हो ।

फतिमाले बिहीबार अध्यक्ष ओलीसँगै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवसँग पनि भेट गर्नुभएको थियो ।

आज उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मासहितलाई पनि भेट्ने कार्यक्रम तय भएको छ । उहाँ बिहीबार चारदिने नेपाल भ्रमणमा आउनु भएको हो ।

सम्बन्धित खबरहरु