काठमाडौं । संघीय संसदको बैठक आज पनि बस्दैछ । गत बुधबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोध गरेपछि आज पुनः बैठक बस्न लागेको संघीय सचिवालयले जनाएको छ ।

सचिवालयले आजको बैठकका लागि विभिन्न २९ वटा सम्भावित कार्यसूची तय गरेको छ ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमकाअनुसार आजको बैठक सूचारु भएमा विभिन्न कार्यसूचीमाथि छलफल हुनेछ ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुले उठाएको प्रश्नको यथोचित जवाफ नआएमा आजको बैठक पनि प्रभावित हुने बताउनुभयो ।

“हामीले सभामुखसँग स्पष्ट जवाफ मागेका छौं, चित्तबुझ्दो जवाफ नआएमा बैठक अवरोध कायम राख्छौं” उहाँले भन्नुभयो ।

एमालेले पार्टीबाट कारवाही गरिएका १४ जना सांसदलाई के कारणले कारवाही नगरिएको हो ? जवाफ माग गरेको छ ।

एमालेबाट अलग भएपछि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष बन्नुभएका नेता माधवकुमार नेपालसहित चौध जना सांसदलाई संसद बैठकमा उपस्थित गराएसम्म बैठक अवरोध कायम राख्ने प्रमुख सचेतक भट्टराईले बताउनुभयो ।

यता सभामुख अग्नीप्रसाद सापकोटाले एमाले सांसदहरुको अवरोधकै बीच कार्यसूचीको काम अगाडि बढाउने तयारी गर्नुभएको छ ।

गत बुधबारको बैठकमा पनि अवरोधकैबीच राजनीतिक दलसम्बन्धी अध्यादेश बैठकमा पेश भएको थियो ।

सम्बन्धित खबरहरु