ललितपुर । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´सँग नेपाल भ्रमणमा रहेको अमेरिकी परियोजना एमसीसीका उपाध्यक्ष फतिमा सुमारको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले भेट गरेको छ ।

भेटमा अध्यक्षले एमसीसीको विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएर अगाडि बढ्न सकिने बताउनुभयो ।

उहाँले देशको अग्रगमनको संवाहक वर्तमान गठबन्धनलाई बलियो बनाउनु प्रमुख प्राथमिकता रहेको बताउनुभयो ।

भेटमा उपाध्यक्ष सुमारले आफू नेपाल कुनै दबाबका लागि नभई एमसीसीबारे स्थिति बुझ्न आएको बताउनुभयो ।

यसबारे राजनीतिक दलहरूले नै निर्णय गर्ने बताउनुहुँदै सकारात्मक निर्णय हुनेमा आफू आशावादी रहेको उहाँको धारणा थियोे ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर राजनीतिक भेट शुरु गर्नुभएकी उहाँले आज सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्नु भएको छ ।

फतिमाले बिहीबार अध्यक्ष ओलीसँगै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवसँग पनि भेट गर्नुभएको थियो ।

आज उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मासहितलाई पनि भेट्ने कार्यक्रम तय भएको छ । उहाँ बिहीबार चारदिने नेपाल भ्रमणमा आउनु भएको हो ।

सम्बन्धित खबरहरु