काठमाडौं । ऊर्जामन्त्री पम्फा भुसालसँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत स्टेफन रुसेकले शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच आपसी हित र चासोका विषमा छलफल भएको थियो । सो अवसरमा कार्यवाहक राजदूत रुसेकले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि जर्मन सरकारले उपलब्ध गराउँदै आएको सहयोग आगामी दिनमा विस्तार गर्दै लैजाने बताउनुभयो ।

नेपालको वैकल्पिक ऊर्जाका क्षेत्रमा पनि जर्मन सरकारले सहयोग गर्दै आएको उल्लेख गर्दै सो क्षेत्रमा थप सहकार्य गरेर अगाडि बढ्ने विश्वास दिलाउनुभयो ।

चिलिमे–त्रिशूली र लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन निर्माणमा आफ्नो सरकारको आर्थिक सहयोग रहेको जानकारी गराउँदै राजदूत रुसेकले ती आयोजनाको प्रगतिबारे जिज्ञासा राख्नुभएको थियो । त्यसैगरी संसद्मा पेश भएको विद्युत् विधेयकबारे पनि कार्यवाहक राजदूत रुसेकले चासो व्यक्त गर्नुभएको थियो ।

जवाफमा मन्त्री भुसालले नेपाल–जर्मनीबीच रहिआएको आपसी सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्दै सामाजिक एवं आर्थिक क्षेत्रमा जर्मनी सरकारले पु¥याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले वैकल्पिक ऊर्जा एवं प्रसारण लाइन निर्माणमा जर्मनीले उपलब्ध गराउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै ऊर्जा क्षेत्रको विकासमा सहकार्य गर्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री भुसालले जर्मनीबाट प्राप्त आर्थिक एवं प्राविधिक सहयोगलाई सही तबरले उपयोग गरिने विश्वास दिलाउँदै नेपालले राखेका लक्ष्य प्राप्तिका लागि जर्मनीबाट सहयोग रहने अपेक्षा रहेको बताउनुभयो ।

उहाँले भूकम्पपछिको पुनःनिर्माण एवं कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जर्मनीले पु¥याएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीको सहभागिता थियो ।

सम्बन्धित खबरहरु