काठमाडौ । निपा भाइरसको संक्रमण फैलन नदिन नेपालमा पूर्वतयारी थालिएको छ ।

यो रोगको जोखिम नेपालमा पनि रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वतयारी स्वरुप देशभरका अस्पतालहरुलाई ‘अलर्ट’ हुन निर्देशन दियो ।

रोगको यकिन निदान नहुँदै वा तीव्र रुपमा बिरामीको स्वास्थ्य अवस्था बिग्रँदै गएमा वा मृत्यु भएमा त्यस्ता बिरामीहरुको विस्तृत विवरण लिई प्रयोगशालाको समन्वयमा नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा यथाशीघ्र पठाउने व्यवस्था मिलाउन अर्ली वार्निङ एण्ड रिपोर्टिङ सिस्टम (इवार्स) सेन्टिनेल साइट अस्पतालहरुलाई मन्त्रालयले निर्देशन दिएको हो ।

भारतको केरलामा भेटिएको निपा भाइरसको संक्रमणको अवस्थाबारे छलफल गर्दै मन्त्रालयले त्यस्ता केसहरु देखा परेमा विस्तृत विवरणसहित परीक्षणका लागि संकलित नमुना टेकुमा पठाउन अस्पतालहरुलाई निर्देशन दिएको थियो ।

केरलामा यो भाइरसबाट गत आइतबार १२ वर्षीय एक बालकको मृत्यु भएको थियो । केरलाको स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु भएका बालकको क्लोज कन्ट्याक्टमा रहेका १८ र संक्रमण सरेको हुन सक्ने सम्भावना भएका १५० भन्दा धेरैलाई क्वारेन्टिन राखेर नमुना परीक्षण गरियो । तर सबैको निपा परीक्षण नेगेटिभ आएको बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले शंकास्पद बिरामीहरुको नमुना परीक्षणका लागि प्रयोगशालासम्म ल्याउने मेकानिज पनि मन्त्रालयसँग रहेको बताउनुभयो ।

नेपालमा जोखिम कति छ ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. पौडेल निपा भाइरसको संक्रमण नेपालमा देखा परिनसकेको बताउँनुहुन्छ ।

‘नेपालमा यसको संक्रमण देखा परिसकेको छैन । तर जोखिम चाहिँ छ । यसलाई जुनोटिक डिजिज पनि भनिन्छ,’ डा. पौडेलले भन्नुभयो, ‘यसको संक्रमण नेपालमा पनि देखिन सक्छ भनेर अलर्ट गराएका हौं ।’

सम्बन्धित खबरहरु