काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोलीले नेताहरूका घर–घरमा पुगेर भेटघाट गरिरहेको प्रति असन्तुष्टि जनाउनुभएको छ ।

एमसीसीको टोलीले नेताहरूलाई भेटिरहेको बेला एमाले उपध्यक्ष रावलले सामाजिक सञ्जालमार्फत संविधान जारी गर्न लाग्दा र सरकार परिवर्तन हुँदाका दृश्य स्मरण गर्नुभएको हो ।

रावलले सामाजिक सञ्जाल ट्विटरमा लेख्नुभयो, ‘संविधान जारी गर्न लाग्दा नेताको घरमा पुगेर विदेशीले दबाब दिने, सरकार परिवर्तन हुनलाग्दा त्यस्तै हुने र हुँदाहुँदा नेपालीले नचाहेको अनुदान पनि लिनैपर्छ भनी विदेशीले नेताहरूको घर–घर पुगेर दबाब दिने, कस्तो विडम्बना ।’

रावलले अगाडि पुकार गर्नुभएको छ, ‘हे आमा नेपाल, नेताहरूलाई स्वाधीनता, स्वाभिमान र मर्यादाको सद्‌बुद्धि देउ ।’

बिहीबार बिहान काठमाडौं ओर्लिएको एमसीसीकी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले पहिलो भेट एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गरेका थिए ।

उक्त टोलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतसँग भेटघाट गरेको छ ।

सम्बन्धित खबरहरु