काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतको एक राज्यमा जोडदार भूकम्पको धक्का महसुस गरिएको छ ।

भारत, उत्तराखण्डको चमोली, पौडी, अल्मोडा आदि जिल्लाहरुमा आज बिहान ६ः१३ बजे भूकम्पको ठूलो धक्का महसुस गरिएको हो ।

भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जोशीमठ नजिकै ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

त्यसको केन्द्र जमिन भन्दा ५ किलोमिटर तल रहेको बताइएको छ । झट्काले मानिसहरुमा त्रास फैलियो । मानिसहरु घरहरु बाट बाहिर निस्के र भागाभाग पनि भयो ।

तर, भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन । अर्कोतिर भारतकै श्रीनगर र रुद्रप्रयाग क्षेत्रमा बिहीबार मध्यरात पछि परेको मुसलधारे वर्षाले कहर निम्त्याएको छ ।

जसकारण बद्रीनाथ राजमार्गको कालियासौर नजिकैको सिरोबगढमा पहिरोका कारण तीनवटा सवारी साधनहरु दबिएका छन् । सडक बन्द भएपछि सडकमा पार्क गरिएको एउटा ट्याङ्कर अलकनन्दामा खस्ने डर छ ।

चालक र उनका एक सहयोगी ट्याङ्करमा रहेको बताइएको छ । बद्रीनाथ राजमार्ग वर्षाका कारण धेरै ठाउँमा बन्द भएको थियो ।

केदारनाथ राजमार्ग पनि थुप्रै ठाउँमा भग्नावशेषको कारण बन्द थियो, जुन यातायातको लागी खोलिएको छ ।

सम्बन्धित खबरहरु