काठमाडौं । नेपालमा शनिबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बैतडी र दार्चुलामा भुईंचालोको धक्का महसुस गरिएको हो ।

बिहान ६ बजेर १३ मिनेटमा त्यहाँ भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिनुभयो ।

उक्त भुईंचालोको केन्द्रबिन्दु भारतको उत्तराखण्ड प्रदेशको उत्तराकाशी क्षेत्र आसपास रहेको जनाइएको छ । भुईंचालोको क्षतिबारे कुनै जानकारी आइसकेको छैन । नेपालमा भुईंचालो जानुका प्रमुख कारण भारतीय भू–खण्डको उत्तरतिर भइरहेको विस्थापन हो ।

भारतीय भू–खण्ड प्रत्येक वर्ष करिब ४ सेन्टिमिटरका दरले उत्तरतर्फ हिँडिराखेको छ र करिब २ सेन्टिमिटरका दरले हिमालय क्षेत्रमा दबाब सञ्चित भइरहेको छ ।

यसरी सञ्चित भएको दबाब चट्टानले थेग्न सक्नेभन्दा बढी भएमा भौगर्भिक दरारहरूमा अकस्मात विस्थापन हुन्छ र भुईंचालोका तरङ्गहरूको चारैतिर प्रसारण हुन थाल्छ । भुईंचालोले सधैं र सबै स्थानमा एकैकिसिमको क्षति हुँदैन र यो धेरै कुरामा भर पर्छ ।

सम्बन्धित खबरहरु