काठमाडौं । तीजको केही दिन पहिले सङ्खुवासभामा भएको सामूहिक नरसंहारमा नयाँ अपडेट आएको छ । सो घटनामा संलग्न आरोपीले आफ्नो अपराध स्वीकार गरेको प्रहरी स्रोतको दाबी रहेको हो ।

प्रहरीका अनुसार अनुसार अभियुक्त स्थानीय बासिन्दा हुन् । गत सोमबार बिहानै मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बस्दै आएका बौदमान कार्कीका परिवारका ६ जना सदस्यको सामुहिक नरसंहार गरिएको थियो ।

उक्त घटनामा बौदमानका ५८ वर्षीय छोरा तेजबहादुर कार्की मृत भेटिएका थिए । राम्रोसँग सुन्न र देख्न नसक्ने ८५ वर्षीय बौदमान भने सकुशल फेला परे ।

बौदमानकी ८४ वर्षीया श्रीमती पार्वता कार्की पनि मृत भेटिइन् । तेजबहादुरकी ५२ वर्षीया पत्नी कमला र ३२ वर्षीया बुहारी रञ्जना कार्कीको शव घर नजिकैको खोल्सामा भेटिएको थियो ।

११ वर्षीय नाति दिपेन र ७ वर्षीया नातिनी गोमाको शव घरमाथिको खरबारीमा भेटिएको थियो । मृतक सबैका शव घरबाट सय मिटरको आसपासमा भेटिएको प्रहरीले जानकारी दिएको थियो ।

उक्त घटनामा स्थानीय चिनेजानेकै व्यक्तिको हात हुनसक्ने आशंका गरेर प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा प्रहरीले स्थानीय एक व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीका अनुसार ति व्यक्तिले पनि घटनामा आफ्नो संलग्नता रहेको कुरालाई स्वीकार गरेका छन् । प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान भने खुलाउन नचाहेको उल्लेख गरेको छ ।

व्यक्तिगत रिसिइबीका कारण घटना भएको प्रहरी बताउँछ । उनले केन्द्रीय अनुसन्धान ब्युरो सिआईबी समक्ष आफ्नो अपराध स्वीकार गरेका हुन् ।

यद्यपि घटनास्थलमा खटिएका प्रहरीले भने यस सम्बन्धमा बोल्न मानेनन् । उनलाई आज नै सार्वजनिक गर्ने प्रहरीको तयारी रहेको छ ।

 

सम्बन्धित खबरहरु