मुम्बई । सन् ८० देखि ९० को दशकमा आफ्नो शानदार अभिनयका कारण दर्शकको मन जितेकी अभिनेत्री श्रीदेवी ( Sridevi ) अहिले यो संसारमा छैनन् । तर उनको जिन्दगी जहिल्यै चर्चामा रह्यो ।

मिथुन चक्रवर्ती ( Mithun Chakraborty ) सँगको अफेयरदेखि लिएर बोनी कपूर ( Boney Kapoor ) सँगको विवाहले श्रीदेवीलाई सधैं चर्चामा ल्यायो । बोनी र श्रीदेवीलाई बलिउडको बहादुर जोडी मानिन्छ, जसले खराब समयमा पनि एकअर्काको साथ दिए ।

तर सायद कमैलाई मात्र थाहा होला कि बोनीसँग विवाह गरेकी श्रीदेवीले कुनै समय उनलाई राखी बाँधेकी थिइन् ।

बोनी र श्रीदेवीको प्रेम आफैंमा अनौठो थियो । विवाहित भएर पनि बोनी श्रीदेवीको सुन्दरताबाट प्रभावित थिए । भनिन्छ ‘मिस्टर इण्डिया’मा श्रीदेवीलाई अनुबन्धित गराउनकै लागि उनले एक हप्तासम्म श्रीदेवीको घरमा चक्कर मारेका थिए ।

उनलाई फिल्मका लागि ११ लाख रुपैंयाँ पारिश्रमिक दिएका थिए । जुन पारिश्रमिक श्रीदेवीको मागभन्दा बढी थियो ।

सन् १९८४ ताका श्रीदेवी र मिथुनको अफेयरले बलिउड तातेको थियो । त्यो समयमा श्रीदेवीले मिथुनसँग गोप्य रुपमा विवाह गरेको चर्चा चलेको थियो । तर मिथुनकी पहिलो श्रीमति गीता बालीले श्रीदेवीसँग विवाह गरेमा आफूले भोक हड्ताल गर्ने चेतावनी दिएकी थिइन् ।

मिथुनलाई खुशी पार्न श्रीदेवीले बोनीलाई दाजु मानेर राखी बाँधिदिएकी थिइन् । यो कुरा बोनीकी श्रीमति मोना कपूरले एक अन्तरवार्तामा खुलाएकी थिइन् । सन् १९८८ मा श्रीदेवी र मिथुन अलग्गिए ।

यही बेला बोनी श्रीदेवीलाई मनपराउन थालेका थिए । उनी श्रीदेवीलाई पाउनका लागि श्रीमति मोना कपूरलाई समेत छोड्न तयार थिए । बोनीले मोनासँग सम्बन्धविच्छेद गरे पछि सन् १९९६ मा गुपचुप रुपमा विवाह गरेका थिए । विवाह गरेको केही महिनामै उनले छोरीलाई जन्म दिएकी थिइन् ।

श्रीदेवीले बलिउडमा ५० वर्षसम्म काम गरिन् । उनले ‘चांदनी’, ‘मिस्टर इण्डिया’, ‘नगीना’, ‘चालबाज’ जस्ता कैयौं सुपरहिट फिल्ममा अभिनय गरेकी थिइन् ।

श्रीदेवीलाई बलिउडको पहिलो ‘सुपरस्टार अभिनेत्री’ मानिन्छ । सन् २०१८ फेब्रुअरी २४ मा दुबईको एक होटलमा बाथटवमा लडेर उनको निधन भएको थियो ।

 

सम्बन्धित खबरहरु