काठमाडौं । एक फेसबुक स्टाटस लेखेका कारण युवक पक्राउ परेका छन् । नेपाली कांग्रेसका नेताहरूबाट सिफारिस गराएर नेपाल प्रहरीको जवान पदमा नाम निकालिदिएको भन्दै स्टाटस लेख्ने व्यक्ति पक्राउ परेका हुन् ।

आफ्नो गाउँका युवाहरू कांग्रेस नेताहरुको सिफारिसमा नेपाल प्रहरीको जवान पदमा नाम निकाल्न सफल भएको भन्दै स्टाटस लेख्ने नरेन्द्र गुरुङ पक्राउ परेका छन् ।

प्युठानको ऐरावती गाउँपालिका–१ का ३० वर्षीय गुरुङले गृहमन्त्रीको समेत नाम जोडेर स्टाटस लेखेका थिए ।

उनले गृहमन्त्री बालकृष्ण खाँणको सहयोगमा प्युठानका ११ जना र देशभरबाट ४१ जनाको नाम निकाल्न सफल भएको कुरा फेसबुकमा लेखेका थिए । उनले प्युठानबाट कांग्रेसका उपसभापति बद्री लम्सालले सिफारिस गरेको र युवाहरूलाई नाम निकाल्न गृहमन्त्री खाँणले सहयोग गरेको भन्दै तारिफ गरेका थिए ।

सहयोगका लागि गृहमन्त्री खाँणलाई फेसबुकमै धन्यवाद पनि दिएका थिए । पक्राउ परेका गुरुङलाई अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाइने केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त कुँवरले जानकारी दिनुभयो ।

फेसबुकमा स्टाटस राख्दै उनले भनेका छन्, ‘मेरो व्यक्तिगत पहलमा प्युठानी छोराहरुले नेपाल प्रहरीमा नाम निकाल्न सफल भएका छन् ।

भाइहरूलाई हार्दिक बधाईं छ । नेपाली कांग्रेस प्यूठानका उपसभापति बद्री लम्साल ज्युको सिफारिसमा ११ जना हिमाल, श्याम राजन लगायत अन्य साथिहरुको सिफारिसमा देशभरका ४१ जनाको नाम निकाल्न सफल भएको छु । सहयोगको लागि माननीय गृहमन्त्री बालकृष्ण खाँणज्यूलाइ हार्दिक धन्यवाद ।’

सम्बन्धित खबरहरु