काठमाडौं । भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा शनिबार बिहान भएको भारी वर्षाले सबै रेर्कड तोडेको छ । वर्षाका कारण दिल्ली विमानस्थल परिसर र शहरका अन्य भागहरुमा पानी जम्यो ।

खराब मौसमका कारण शनिबार बिहान पाँचवटा उडानहरु विमानस्थलबाट डाइभर्ट गर्नुपर्यो । दुई स्पाइसजेट उडानहरु र एक एक इन्डिगो र गोफस्र्टको विमानहरुलाई जयपुर तिर डाइभर्ट गरिएको हो ।

दुबई बाट दिल्ली आउँदै गरेको एक अन्तर्राष्ट्रिय उडान अहमदाबाद डाइभर्ट भयो । दिल्ली अन्तराष्ट्रिय विमानस्थल लिमिटेडले अचानक भएको भारी वर्षाको कारण, विमानस्थल परिसरमा छोटो समयको लागी पानी जम्मा भएको बयान दिएको छ ।

बयानमा भनिएको छ, ‘हाम्रो टीमले तुरुन्तै समस्या देख्यो, बिहान नौ बजे समाधान भयो । विमानस्थल सामान्य अवस्थामा फिर्ता हुँदैछ ।’ मोती बाग र आर के पुरमका साथै मधु विहार, हरि नगर, रोहतक रोड, बदरपुर, सोम विहार, आईपी स्टेशनको नजिक रिङ्ग रोड, विकास मार्ग, संगम विहार, मेहरौली–बदरपुर रोड, पुल प्रल्हादपुर अन्डरपास, मुनिरका , राजपुर खुर्द, नङ्गलोई र किरारी सहित अन्य मार्गहरुमा पनि पानी जमेको थियो ।

मानिसहरूले सामाजिक सञ्जालमामा पानी जमेका तस्वीर र भिडियो पोस्ट गरिरहेका छन् । ट्विटरमा पोस्ट गरिएको एक भिडियोमा कथित रुपमा मधु विहारमा पानी जमेको सडकहरु देखाइएको छ, केहि डीटीसी क्लस्टर बसहरु पानीमा उभिएका छन् ।

अन्य यात्रुहरु आफ्ना सवारी साधनहरु जलमग्न सडकहरु बाट निकाल्न खोजिरहेका छन् । ट्विटर प्रयोगकर्ताहरुले सदर बजार क्षेत्रमा मिन्टो ब्रिज, आईटीओ र नङ्गलोई पुल नजिकै पानी जमेको भिडियो पनि पोस्ट गरेका छन् ।

निर्माण विभागका अधिकारीहरुले कामदारहरु सडकबाट पानी निकाल्ने काममा लागेको जानकारी दिएका छन् । एक अधिकारीले भने, ‘शनिबार बिहान सबेरै भारी वर्षाको कारण धेरै ठाउँमा पानी जमेको थियो ।

हामी यो समस्यालाई प्राथमिकताका आधारमा समाधान गर्दैछौं । हाम्रा कर्मचारीहरुले २४ घण्टा स्थिति अनुगमन गरिरहेका छन् ।’

दिल्ली ट्राफिक पुलिसले पनि ट्वीट गरी मानिसहरुलाई ती मार्गहरुको बारेमा जानकारी दिईरहेको छ, जहाँ पानी जम्मा हुन सक्छ ।

सम्बन्धित खबरहरु