काठमाडौ । नेकपा एमालेको विधान महाधिवेशन सरेको छ । स्थायी कमिटीको आजको बैठकले असोज ४ देखि ६ सम्म हुने भनिएको विधान महाधिवेशन एक साता पर सारेको हो ।

अब विधान महाधिवेशन १५ देखि १७ सम्म आयोजना हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

करीव ३ हजार प्रतिनिधि रहने प्रस्ताव संगठन विभागले गरे पनि यसबीचमा एमालेको विधानमा नरहेका संरचनाहरु बनेकाले संविधानसँग मेल खानेगरि विधानमा बाधा अड्काउ फुकाउनुपर्ने भएको स्थायी कमिटी सदस्य विष्णु रिमालको भनाई छ ।

२०७१ सालमा एमालेको नवौं महाधिवेशनले विधान संशोधन गर्दा अहिलेका प्रादेशिक र स्थानीय तहका संरचना थिएनन् । त्यस्तै त्यसबेलाका २४० निर्वाचन क्षेत्र घटेर अहिले १६५ मा झरेका छन् ।

राष्ट्रिय प्रतिनिधि परिषदको संख्या पनि सोही अनुसार मिलाउनु पर्ने र विधानको बाधा अड्काउ फुकाउने धारा अनुसार अघि बढ्नुपर्ने भएको उहाँले बताउनुभयो । त्यसबेला अन्चल कमिटी थिए भने अब प्रदेश कमिटी बनेका छन् ।

राष्ट्रिय प्रतिनिधि परिषद सदस्यको टुंगो लागेपछिमात्र विधान संशोधन मस्यौदा र अन्य प्रतिवेदनमाथि छलफल अघि बढ्ने प्रचार विभाग प्रमुख योगेश भट्टराईको भनाई छ ।

सम्बन्धित खबरहरु