काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । शनिबार ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी बैठकले असोज ४, ५ र ६ गते गर्ने भनिएको विधान महाधिवेशनको मिति सार्ने निर्णय गरेको हो ।

 

बैठकले समय अभावका कारण विधान महाधिवेशन असोज १५, १६ र १७ गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय गरेको छ । त्यसका लागि असोज ३ र ४ गते स्थायी कमिटीको बैठक बस्ने एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

आजको बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव, राजनीतिक दस्तावेज तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको छ । यस पश्चात् विधान महाधिवेशन सन्दर्भमा स्थायी कमिटीबाट आएका सुझावसहित असोज ८ र ९ गते केन्द्रीय कमिटीको बैठकमा थप घनिभूत छलफल हुनेछ ।

एमालेको विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिहरुमा केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य, अनुशासन आयोगका पदाधिकारी र सदस्य, लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य, निर्वाचन आयोगका पदाधिकारी र सदस्य, केन्द्रीय विभागका सचिवसहित १५ सदस्य, सल्लाहकार परिषदका पदाधिकारी र सदस्य, जेष्ठ कम्युनिस्ट मञ्चका पदाधिकारी र सदस्य रहेका छन् ।

यस्तै, प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्य, विशेष कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटीका पदाधिकारी र सदस्य, निर्वाचन क्षेत्रबाट महिला,दलित खुला एक सदस्य, जनसंगठनका पदाधिकारीमध्येबाट १० जना, पार्टी सदस्य रहेका संघीय संसदका सदस्य, पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य, एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख र एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनित गरिने भट्टराईले जानकारी गराउनुभयो ।

सम्बन्धित खबरहरु