काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले देशको स्वाधिनता, स्वतन्त्रता र सुरक्षामा आँच आउने कुनै पनि सम्झौता आफ्नो पार्टीलाई स्वीकार्य नभएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो–हामीले एमसीसीका उपाध्यक्षलाई प्रष्टसँग भनेका छौंं कि यो परियोजनाले नेपालको स्वाधीनता, सुरक्षा स्वतन्त्रता र सार्वभौमसत्तामा कुनै पनि प्रभाव पार्ने छैन भन्ने कुरामा विश्वस्त नभएसम्म स्वीकार गरिने छैन ।

शनिवार नेपालगञ्जमा आयोजना गरिएको युवा संघ नेपाल लुम्बिनी प्रदेश भेलाको उदघाटन तथा पिपुल्स भोलियन्टियर घोषणा कार्यक्रममा सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफ्नो दल र आफूहरुले देशको सुरक्षामा आँच आउने कुनै पनि सम्झौताको समर्थन नगर्ने बताउनु भयो ।

नेपाल र नेपाली जनताको हितमा रहने सबै प्रकारका अन्तराष्ट्रिय सन्धि सम्झौताहरुको सम्मान गर्दै आएको र गर्ने जनाउँदै उहाँले कुर्सी र सत्ताका लागि जे पायो त्यही गर्ने काम आफूहरुबाट नहुने विश्वास दिलाउनुभयो ।

संविधान, व्यवस्था र संघीयता समाप्त गर्ने षडयन्त्र गरिएपछि सो जोगाउन बनेको पाँच दलको वाम लोकतान्त्रिक गठबन्धन आगामी निर्वाचन र त्यसपछि पनि कायम रहने पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेपालले बताउनुभयो ।

उहाँले अहिले देशमा पाँच दलको वाम लोकतान्त्रिक गठबन्धन र केपी ओलीको एमाले, राप्रपा लगायतको दक्षिणपन्थी गठबन्धन गरेर दुईवटा गठबन्धन रहेको जनाउँदै दक्षिणपन्थीहरु विस्तारै बिलाएर जाने बताउनुभयो ।

उहाँले केपी ओलीले विदेशीसंग लम्पसार भएर आफू सत्तामा टाँसिरहनका लागि मात्रै दुई पटक प्रतिनिधिसभा भंग गर्नुका साथै संघीयता समेत समाप्त पार्ने षडयन्त्र गरेको आरोप लगाउनुभयो ।

नेकपा एमाले केपी ओलीको निजी कम्पनीमा परिणत भएपछि आफूहरुले नेकपा एकिकृत समाजवादी गठन गरेको जनाउँदै अध्यक्ष नेपालले यो पार्टीको गठनसंगै देशभरी नयाँ तरंग फैलिएको बताउनुभयो ।

सम्बन्धित खबरहरु