काठमाडौं । नेपालको चारदिने भ्रमण सक्काएर एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोली फिर्ता हुँदैछ । यो बीचमा सत्तारूढ गठबन्धनका दलहरूको बैठक डाकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरू सहभागी हुनुहुन्छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको दुई महिना बित्न लाग्दा पनि गठबन्धनले मन्त्रीमण्डल विस्तार गर्न नसकेको भन्दै चर्को आलोचना खेप्नु परिरहेको छ ।

यसअघि सरकारले गत शुक्रबार संसदमा अध्यादेशमार्फत् ल्याएको बजेटको प्रतिस्थापन विधेयक ल्याएको थियो । उक्त विधेयक अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभा बैठकमा पेस गरिसक्नु भएको छ ।

प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर अवरोध गरिरहेको छ । एमसीसी परियोजनालाई लिएर पनि गठबन्धनभित्र विवाद कायम छ ।

आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि पेश गर्ने सम्बन्धमा गठबन्धनको बैठक बसिरहेको श्रोतको दावी छ ।

 

सम्बन्धित खबरहरु