काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । भदौँ २९ गतेसम्मका लागि बैठक स्थगित भएको हो ।

आइतबारको बैठकमा नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो । बसेको केही समयपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।

निर्धारित समयभन्दा आधा घण्टा ढिलो १ः३० बजे आज शुरुभएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले रोष्टम अगाडि नाराबाजी गर्दै विरोध गरेपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको हो ।

सभामुख सापकोटाले जनताको सर्वोच्च जनप्रतिनिधि संस्थालाई मर्यादित बनाउन आग्रह गर्नुभयो । “समन्वय र सहकार्यमा जानैपर्छ, बैठक सहज ढंगले सुचारु गर्न वातावरण बनाइदिन आग्रह गर्दछुँ” सभामुख सपाकोटाले आग्रह गर्नुभयो ।

वातावरण सहज बनाउनेतिर भूमिका खेल्न उहाँले एमाले सांसदहरुलाई पटक पटक आग्रह गर्नुभयो । “विचारहरु, दृष्टिकोणहरु, धारणाहरु राख्ने वातावरण बनाइदिन सबै सांसदहरुलाई, विशेषगरी प्रमुख प्रतिपक्षी दलका सांसदहरुलाई आग्रह गर्दछुँ” उहाँले भन्नुभयो ।

बैठकमा नियमित अवरोध हुँदा अन्य सांसदहरुको अधिकार संकुचित हुने भन्नुहुँदै सभामुख सापकोटाले बैठक सञ्चालनका लागि आफ्नो स्थानमा आसनग्रहण गरी सहयोग गर्न आग्रह गर्नुभयो ।

संविधानको धारा १०५ को स्मरण गराउनुहुँदै सभामुख सापकोटाले विरोध अन्त्य गरी बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभयो । सभामुख सापकोटाको आग्रहलाई वेवास्ता गर्दै एमाले सांसदहरुले रोष्टम अगाडि नाराबाजी जारी राख्नुभयो ।

‘संविधान सर्वोच्चता कायम गर, संसदीय मर्यादा कायम गर, कारवाही गरिएका सांसदलाई प्रवेश निषेध गर, पक्षपातपूर्ण व्यवहार बन्द गर’ लगायतका नारा सांसदहरुले लगाउँदै विरोध गर्नुभएको थियो ।

सम्बन्धित खबरहरु