काठमाडौं । निरन्तर प्रतिनिधिसभाको बैठक अवरुद्ध हुन थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले शिर्ष नेताहरुको बैठक बोलाउनु भएको छ । संसद अवरोध अन्त्य गर्ने विषयमा शीर्ष नेतालाई सोमबार छलफलका लागि बोलाइएको हो ।

प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि सभामुख सापकोटाले संसदमा भएका प्रमुख दलका शीर्ष नेतालाई बोलाउन लाग्नु भएको हो ।

दिउँसो साढे २ बजे बोलाइएको प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । नेकपा एमालेले पार्टीले कारबाही गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहित १४ सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै सभामुखविरुद्ध नाराबाजी गर्दै आएको छ ।

सभामुख सापकोटाले आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई लगायतसँग छलफल गर्नुभयो । भेटमा एमाले प्रमुख सचेतक भट्टराईले आफ्नो पार्टीमाथि गरिएको अन्यायबारे प्रष्ट नपारेसम्म संसद् चल्न नदिने अडान लिनुभयो ।

एमाले विभाजनमा भूमिका खेलेको सभामुख सापकोटामाथि एमालेको आरोप छ । सभामुखसँग प्रमुख सचेतक भट्टराई, सचेतक शान्ता चौधरी, नेता खगराज अधिकारी पनि हुनुहुन्थ्यो । सभामुखले पार्टी फुटाउने मतियारको भूमिका खेलेको उहाँहरुको आरोप छ ।

सभामुख सापकोटाले विश्वासको वातावरण बनाउने बताउनु भएको थियो । तर कानून मन्त्री कार्कीले उच्च राजनीतिक तहमा नै यसबारे छलफल गरिनुपर्ने प्रस्ताव गर्नुभयो ।

त्यसपछि सभामुख सापकोटाले उच्च तहमा सम्वाद अगाडि बढाउने जानकारी दिनुभयो । एमालेले २३ भदौ यता प्रतिनिधिसभा अवरोध गर्दै आएको छ । आजको बैठक पनि चल्न सकेन् । अर्को बैठक मंगलबार बस्दैछ ।

सम्बन्धित खबरहरु