काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट नेकपा एकीकृतको अभिलेखमा आफ्नो नाम अद्यावधिक गर्न सर्वोच्च अदालत पुगेका दुई सांसदलाई तत्काल कुनै कारबाही नगर्न सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

नेकपा एमालेका दुई सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा एकीकृत समावादीमा आफू रहेको र सोही पार्टीमा सनाखत गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो ।

आइतबार न्यायाधीश मीरा खड्काको एकल इजलासले भदौ २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिँदै त्यतिन्जेल उहाँहरुमाथि कुनै कारबाही नगर्न आदेश दिएको हो ।

‘अन्तरिक आदेश माग गरेको सम्बन्धमा बिचार गर्दा, दुवै पक्षको उपस्थितिमा छलफल हुने उपयुक्त देखिएकोले भदौ २९ गते अन्तरिम आदेशको छलफलको लागि पेसी तोकी सो दिन उपस्थित हुन विपक्षीहरुलाइ सूचना दिनु र सो मितिसम्म निवेदनहरुलाई प्रतिकूल असर पर्ने गरी कुनै कामकारबाही नगर्नू भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ को २ र ख बमोजिम विपक्षीहरुका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ ।’ सर्वोच्चद्वारा जारी आदेशमा भनिएको छ ।

साथै उक्त पेसीका दिन प्रस्तुत विवादसँग सम्बन्धित निर्णय तथा सम्पूर्ण कागजातसहितको सक्कल फायल महान्यायाधिवक्ताको कार्यालय मार्फत झिकाई नियमाअनुसार पेश गर्न भनिएको छ । पाण्डे पाल्पा क्षेत्र नं। २ बाट निर्वाचित सांसद हुनुहुन्छ भने भट्ट कैलालीबाट राष्ट्रियसभाका निर्वाचित सदस्य हुनुहुन्छ ।

पाण्डे र भट्टले एमाले छाडेर आफूहरु एकीकृत समाजवादीमा गएकाले निर्वातन आयोग, संसदीय संसद्, सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई विपक्षी बनाइ सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

सम्बन्धित खबरहरु