काठमाडौं । संसद बैठक चल्न नसकेपछि गृहमन्त्री बालकृष्ण खाँणले संवाद, छलफल र वार्ताको माध्यामबाट समस्या समाधान गर्न अनुरोध गर्नुभएको छ । संसदमा देखिएको समस्या समाधानका लागि वार्तामा आउन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई आग्रह गर्नु भएको हो ।

सभामुख अग्नीप्रसाद सापकोटाको भूमिकामाथि आपत्ति जनाउँदै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक आइतबार तेस्रो दिन पनि अवरुद्ध पारेको छ । कांग्रेस नेता समेत रहनु भएका गृहमन्त्री खाँणले संवादको माध्यमबाट ती समस्या समाधान गर्न सकिने विश्वास समेत व्यक्त गर्नुभयो ।

उहाँले संसदमा देखिएका समस्या समाधानका लागि सभामुख सापकोटाले सोमबार दिउँसो प्रमुख दलका शिर्ष नेताहरुसहितको सर्वदलीय बैठक बोलाउनु भएको जानकारी दिनुभयो ।

सभामुख सापकोटाले आइतबार पनि प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतक विशाल भट्टराईसहितका सांसदहरुसँग अवरुद्ध संसद चलाउनका लागि अनुरोध गर्नुभएको छ । तर एमाले नेताहरुले सभामुखले नेकपा एमाले फुटाउन भुमिका खेलेको बताउँदै आएका छन् ।

आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदहरुलाई संसदमा बस्न दिन नहुने एमालेको तर्क रहेको छ । तर सभामुख सापकोटाले उक्त मुद्दा सर्वोच्च अदालतमा पुगेको भन्दै पन्छिन् खोजिरहनु भएको छ ।

सम्बन्धित खबरहरु