काठमाडौं । अफगानिस्तानमा तालिबान नेतृत्वको सरकारले महिलाले अलग्गै विद्यालय र विश्वविद्यालयमा पढन पाउने बताएको छ । तर अनुहार छोपेर मात्रै पठनपाठनमा सहभागी हुन पाउने उसले जनाएको छ ।

अफगानिस्तानको उच्च शिक्षा मन्त्री अब्दुल बकी हक्कानीले आइतबार शिक्षा सम्बन्धमा नयाँ नीति ल्याउन लागेको पत्रकार सम्मेलनमा जानकारी गराउँदै यसप्रकारको धारणा राख्नुभएको हो ।

२० वर्षपछि तालिबान नेतृत्वको सरकारको पुनरागमन हुँदा महिला अधिकारबारे थुप्रै संशय उब्जिएको थियो ।

तालिबानको पछिल्लो शासनकालमा महिलाको पठनपाठन र पेशा ब्यवसाय गर्न पाउने अधिकारबाट बञ्चित गरिएको थियो ।

हक्कानीले विगतको भन्दा महिला अधिकारमा तालिबान उदार हुने दाबी गर्नुभयो ।

यद्यपि महिलालाई खेलकूद गतिविधिमा सहभागी हुन रोक लगाइएको छ ।

महिलालाई लक्षित गरी सञ्चालनमा रहेको विश्वविद्यालयका लागि पनि केही संहिता तयार गरिने उहाँले बताउनुभयो ।

महिलाले पढ्न जाँदा टाउको र अनुहार अनिवार्य रुपमा छोप्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले केटा र केटीलाई सँगै पढ्न अनुमति दिने छैनौं ।”

सम्बन्धित खबरहरु