काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा आह्वान गर्नुभएको सर्वदलीय बैठक अपराह्न बस्दैछ ।

 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको लोत्से हलमा अपराह्न २ः३० बजेका लागि बोलाइएको छ ।

सर्वदलीय छलफल संसदमा जारी गतिरोध अन्त्यलगायतका समसामयिक विषयमा केन्द्रित रहने सभामुखको सचिवालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, नेकपा (एमाले ) संसदीय दलका नेता केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता माधवकुमार नेपाललाई आमन्त्रण गरिएको बताइएको छ ।

यसैगरी जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता महन्थ ठाकुर, जनमोर्चाका दुर्गा पौडेल, नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का प्रेम सुवाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्र लिंदेनलाई आमन्त्रण गरिएको छ ।

संसद्को चालु अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण संसद् बैठक प्रभावित हुँदै आएको छ ।

आइतबार पनि संसद् बैठक दुई पटक बसे पनि कार्यसूचीमा प्रवेश नै नगरी मङ्गलबारसम्मका लागि स्थगित भएको छ ।

अवरोध हटाउन सभामुख सापकोटाले आइतबार प्रतिपक्षी दलका मुख्य सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग छलफल गर्नुभएको थियो ।

एमालेले आफ्नो पार्टीले कारबाही गरेका सांसदलाई संसद् बैठकमा सहभागी हुन निषेधको माग गर्दै लगातार संसद्मा नाराबाजी गर्दै आएको छ ।

सम्बन्धित खबरहरु