काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा दलका नेताहरूले प्रतिपक्षी नेकपा एमालेसँग वार्ता–संवाद गर्न सुझाएका छन् ।

आज बसेको बैठकपछि राष्ट्रिय जनमोर्चाकी सांसद दूर्गा पौडलले सदन अवरोध खुलाउन प्रतिपक्षीको नेता उपस्थित नभएकाले निष्कर्षमा पुग्न नसकिएको बताउनुभयो ।

तर एमालेको माग सम्वोधन गर्न सभामुख अग्नीप्रसाद सापकोटालाई बैठकले सुझाव दिएको बताउनुभयो ।

“संवादबाट नै हरेक अफ्ठ्याराहरुलाई निर्णयमा पुर्‍याउन सकिन्छ । त्यसका लागि प्रतिपक्षीलाई बोलाएर सर्वदलीय बैठक बोलाउन सभामुखलाई अनुरोध गरियो,” उहाँले जनबोलीलाई जानकारी दिनुभयो ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी एमाले अनुपस्थित थियो । एमालेले लगातार संसद् अवरोध गर्दै आइरहेको छ ।

पार्टीले कारबाही गरेको १४ सांसदलाई गैर सांसद भन्दै उनीहरुलाई संसद बैठक कक्षबाट हटाएर बैठक राख्न एमाले माग छ ।

पार्टीले कारबाही गरेका सांसदको पद मुक्त भएको जानकारी नदिएर सभामुखले अन्याय गरेको एमालेको दावी छ ।

सम्बन्धित खबरहरु