मस्कट (ओमान) । आईसीसी विश्वकप क्रिकेट लिग–२ क्रिकोणान्तमक शृङ्खला अन्तरगतको खेलमा अमेरिकाले नेपालसामु २ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३० रन बनायो ।

अमेरिकाका लागि विकेटकिपर मोनाङ्क पटेलले सर्वाधिक १ सय रनको पारी खेले । ९ चौका र एक छक्काको मद्दतले शतक बनाए लगत्तै उनी विक्रम सोबको बलमा क्याच आउट हुन पुगे ।

निसर्ग पटेलले २१ तथा सुशान्त मोदानी र कसरमा गोरले १६–१६ रन बनाए । नेपालका लागि विक्रम सोब, सन्दीप लामिछाने र सुशन भरीले २–२ विकेट लिए । कुशल मल्लले १ विकेट लिए ।

यसअघि नेपाल र अमेरिकाबीच सन् २०२० को फेब्रुअरीमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा भएको थियो । नेपालले दुवै खेलमा अमेरिकालाई पराजित गरेको थियो ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपालसहित ओमान, स्कटल्याण्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र संयुक्त अरब इमिरेट्स (युएई) गरी सात राष्ट्रबीच खेल भइरहेको छ ।

सातै राष्ट्रले सन् २०२३ सम्म प्रतिस्पर्धा गर्नेछन् । शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन् । पुछारका चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

यसअघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ । लिगमा नेपालले चार खेलमा चार अङ्क जोडेको छ । नेपाल छैटौँ स्थानमा छ ।

ओमान १६ अङ्क जोडेर शीर्ष स्थानमा छ । बाह्र अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा छ । स्कटल्याण्ड नौ अङ्कका साथ तेस्रो, नामिबिया आठ अङ्कसहित चौथो, युएई सात अङ्क जोड्दै पाँचौँ तथा पपुवा न्युगिनी अङ्कविहीन रहँदै पुछारमा छ ।

 

सम्बन्धित खबरहरु