मस्कट (ओमान) । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले अमेरिकालाई हराएको छ । नेपालको शानदार जितसँगै अमेरिका स्तब्ध बनेको छ ।

ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा अमेरिकाले दिएको २३१ रनको लक्ष्य सहज पूरा गरेर नेपालले जित हासिल गरेको हो । ५ विकेटले नेपाल विजयी भयो ।

अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि ओपनर कुशल भुर्तेल र रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरे। रोहितले नटआउट ६२ रन जोडे। उनले ८७ बलमा २ चौका र ३ छक्का प्रहार गरे।

रोहितसँग पाँचौ विकेटका लागि ८३ रनको साझेदारी गरेका विनोद भण्डारीले ३७ रन जोडे। उनले ४८ बलमा २ चौका र १ छक्का प्रहार गरे।

पहिलो एकदिवसीय अर्धशतक प्रहार गरेका ओपनर कुशलले ८४ रनको योगदान दिए। उनले ९३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।

अर्का ओपनर आसिफ शेखले २३ रन जोडे। आसिफ र कुशलबीच पहिलो विकेटका लागि ६६ रनको साझेदारी भएको थियो। एकदिवसीय खेलमा यो नेपालको कीर्तिमानी साझेदारी हो।

कप्तान ज्ञानेन्द्र मल्ल १७ रन बनाएर आउट हुँदा कुशल मल्लले १ रनमै पेभिलियन फर्के। बलिङमा अमेरिकाका निषर्ग पटेल र केन्जिगेले २-२ विकेट लिए।

त्यसअघि ओमानको अल अमिरत क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ ‍गरेको अमेरिकाले ९ विकेटको क्षतिमा २३० रन जोड्यो।

अमेरिकाका लागि विकेटकिपर ब्याट्सम्यान मोनांक पटेलले शतक प्रहार गरे। उनी शतक प्रहार गरे लगत्तै आउट भएका थिए।

४७औं ओभरमा विक्रम शोवको बलमा कुशल भुर्तेलबाट क्याच हुनुअघि उनले ११४ बलमा ९ चौका र १ छक्का प्रहार गरे।

ओपनरद्वय स्टेभिन टेलर र सुशान्त मोदानीले क्रमश: १४ रन र १६ रन जोडे। निषर्ग पटेलले २१ रन जोडे भने केन्जिगे १३ रनमा आउट भए। सुसन भारीले जसकरण मलहोत्रालाई ११ रन र संजय कृष्णमूर्तीलाई १३ रनमा आउट गरे।

करिमा गोरे १६ रनमा रनआउट भए। उनलाई सन्दीप लामिछानेले रनआउटको सिकार बनाए। बलिङ नेपालका सन्दीप लामिछाने, विक्रम शोव र सुसन भारीले २-२ विकेट लिए।

यो त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ। विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्।

नेपालले हालसम्म अमेरिकासँग तीन खेल र ओमानसँग दुई खेल खेलिसकेको छ। नेपाल छ अंक जोड्दै अंक तालिकाको छैटौं स्थानमा छ।

सम्बन्धित खबरहरु