काठमाडौं । इजरायलमा सुसारे (केयरगिभर) रूपमा इजरायलमा रोजगारीका लागि जाने श्रमिक छनोट गर्न अंग्रेजी भाषा परीक्षा सोमबार सम्पन्न भएको छ ।

सरकारी तवरबाट इजरायलमा रोजगारीका लागि जाने श्रमिक छनोटका लागि भएको परीक्षामा सात हजार सात जना सहभागी भएका थिए ।

वैदेशिक रोजगार विभागका अनुसार रोजगारीका लागि आवेदन दिएका नौ हजार ६९९ मध्येबाट भाषा परीक्षामा सात हजार सात जना सहभागी भएका छन् भने ६९२ जना परीक्षामा अनुपस्थित छन् ।

सहभागीमध्ये तीन हजार ७२७ पुरुष र तीन हजार २८२ जना महिला रहेको विभागले जनाएको छ । विभागका निर्देशक एवं प्रवक्ता कमल ज्ञवालीले परीक्षाफल छिटोमा दुुई दिन र बढीमा तीन/चार दिनभित्रमा सार्वजनिक हुने जानकारी दिनुुभयो । उत्तरपुस्तिकाको जाँच कम्प्युटर प्रणालीबाट गरिने जनाइएको छ ।

निर्देशक ज्ञवालीका अनुसार उत्तीर्ण भएका परीक्षार्थीले ल्याएको अङ्कका आधारमा एक हजार ६८० जना छनोट गरिनेछ । जसमा इजरायल र नेपाल सरकारबीच भएको सम्झौताअनुसार ७० प्रतिशत महिला र ३० प्रतिशत पुुरुष हुनेछन् ।

विभागले भाषा, लिखित परीक्षा र शारीरिक परीक्षणपछि विभागले एक हजार ४०० जनालाई छनोट गरेर नेपालस्थित इजरायल दूतावासमा पठाउनेछ । विभागले पठाएको नामावलीका आधारमा दूतावासले चिट्ठा प्रक्रियाबाट एक हजार श्रमिक छनोट गरेर भिसाको प्रक्रिया सुरु गर्नेछ ।

विभागका अनुसार इजरायलमा रोजगारीका लागि छनोट भएर गएका श्रमिकको मासिक तलब नेपाली विनिमयअनुसार करिब दुुई लाख रुपियाँ हुनेछ । सो तलब सातामा ४२ घण्टाको हिसाबमा हुन्छ ।

सम्बन्धित खबरहरु