काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । मंगलबार दिउँसो १ बजे बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेक २०८७ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर अवरोध जनाउदै आएको छ । सोमबार सभामुख अग्निप्रसाद सापकोटाको आव्हानमा बानेश्वरस्थित संघीय संसद भवनमा बसेको संसदमा प्रतिनिधित्व गर्ने सर्वदलीय बैठक सम्पन्न भएको थियो ।

सभामुख सापकोटाले संसदमा जारी गतिरोध अन्त्यका लागि राजनीतिक दलको संसदीय दलका नेताहरुलाई छलफलका लागि आव्हान गरिएपनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट कसैको पनि सहभागिता रहेन । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि छलफलमा सहभागी गराउने निष्कर्श निकालिएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले बताउनुभयो ।

सो बैठकमा कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले टेलिफोनमार्फत एमालेसँग सम्पर्क गर्न खोजिएको तर पूर्व सभामुख सुवास नेम्वाङले एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने जानकारी दिनुभएको पौडेलले बताउनुभएको थियो ।

सोमबारको सर्वदलीय बैठकमा दलका नेताहरुले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि छलफलमा सहभागी गराउँदै अघि बढाउनुपर्ने सुझाव सभामुख अग्निप्रसाद सापकोटालाई दिनुभयो ।

सभामुख सापकोटाले एमालेसहित पुनः अर्को सर्वदलीय बैठक बस्न सक्ने प्रतिक्रिया छलफलमा सहभागी नेताहरुले दिनुभएको छ । आजको बैठक पनि एमालेले अवरुद्ध पार्ने बताइएको छ ।

सम्बन्धित खबरहरु