काठमाडौं । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोली चर्चित गायिका विष्णु माझीको माइतीघर पुगेको छ ।

File Photo

प्रहरी चापाकोट पुगेको हो । राष्ट्रिय मानव अधिकार आयोगले जिल्ला प्रशासन र प्रहरी कार्यालयहरूलाई पत्राचार गरी उहाँको अवस्था बुझ्न आग्रह गरेको थियो ।

आयोगको पत्रपछि उहाँको अवस्थाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गायिका माझीको माइतीघरमा प्रहरी टोली पठाए पनि घरमा कोही पनि नभेटिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

गायिका विष्णु माझीका बाबुआमाको मृत्यु भइसकेको छ भने दाजु वैदेशिक रोजगारीमा छन ।

आयोगलाई गायिका विष्णु माझीको माइतीका अवस्थाबारे मौखिक जानकारी गराइसकिएको बोगटीले जानकारी दिनुभयो ।

चरी जेलैमा बोलको तीज गीत सार्वजनिक भएपछि पछिल्लो समय सामाजिक सञ्जालमा माझीलाई बन्धक बनाएर राखेको र न्याय दिलाउनुपर्ने भन्दै आवाज उठेको थियो ।

उनका पति सुन्दरमणि अधिकारीमाथि माझीलाई बन्धक बनाएको आरोप लाग्ने गरेको छ ।

माझीले बाहिरी हल्लाजस्तो आफ्नो भोगाई नरहेको आजसम्म सुन्दरमणिले नै मलाई यहाँसम्म पुर्‍याएको भन्दै उनले आफु बन्धक नभएको बताउनु भएको थियो ।

सम्बन्धित खबरहरु