काठमाडौं । नजिकिँदै गरेको दशैँलगायतका चाडपर्वमा नयाँ नोट लिन खोज्नेले असोज ४ देखि नै पाउने भएका छन् ।

चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि असोज ४ देखि नयाँ नोट वितरण गर्न लागेको हो ।

राष्ट्र बैंकले बालुवाटारस्थित प्रधान कार्यालयका साथै आफ्ना सबै क्षेत्रीय कार्यालयबाट सर्वसाधारणलाई नयाँ नोट सटही गर्ने व्यवस्था गर्दैछ ।

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी राष्ट्र बैंकले दशैँ आउनुभन्दा झन्डै तीन साता अगाडिबाट नोट सटही गर्ने तयारी गरेको हो ।

कोरोना महामारीमा हुने भीडभाडलाई कम गर्न राष्ट्र बैंकले अघिल्ला वर्षहरूमा भन्दा अगाडि नै नोट वितरण गर्न थालेको हो ।

विगतका वर्ष नौरथा लागेपछि मात्र नयाँ नोट वितरण गर्दै आइएको थियो । सर्वसाधारणका लागि असोज ४ देखि असोज २४ सम्म नयाँ नोट वितरण गर्न लागेको जानकारी दिँदै राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले बैंक तथा वित्तीय संस्थालाई भने एक साता अगाडिबाटै नयाँ नोट दिन थालिएको बताउनुुभयो ।

बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट पठाएको राष्ट्र बैंकले यस वर्षका लागि १० अर्ब रुपियाँ बराबरको नयाँ नोट वितरण गर्ने अनुमानसहितको तयारी गरेको छ ।

एक जनालाई १८ हजार पाँच सय रुपियाँ बराबरको पाँच, १०, २०, ५० र १०० रुपियाँका साथै आवश्यकताका आधारमा ५०० र १००० का नयाँ नोट पनि वितरण गरिने राष्ट्र बैंकले जनाएको छ ।

नयाँ नोट सटही गरिने राष्ट्र बैंकले जनाएको छ । पाँच, १०, २०, ५० र १०० रुपियाँका एक÷एक बन्डल नोटको जोड कुल १८ हजार पाँच सय रुपियाँ हुुन आउँछ ।

सम्बन्धित खबरहरु