काठमाडौं । तालिबानले अफगानिस्तानलाई लाखौं डलरको आपतकालीन सहायता उपलब्ध गराएकोमा विश्वलाई धन्यवाद दिएको छ ।

अमेरिकालाई गरीब देशहरु प्रति ठूलो मन राख्न आग्रह पनि तालिबानले गरेको छ । समाचार एजेन्सी एएफपीका अनुसार जेनेभामा सोमबार आयोजित दाता सम्मेलन अफगानिस्तानलाई १.२ अर्ब डलर सहयोग दिने वाचासहित समाप्त भयो ।

वर्तमान समयमा, अफगानिस्तान तालिबानद्वारा शासित छ । अफगानिस्तान राजनीतिक, सामाजिक र आर्थिक संकटजस्तो कठिन समय बाट गुज्रिरहेको छ । यद्यपि अफगानिस्तान लामो समयदेखि संसारका सबै देशहरु द्वारा दिईएको सहायतामा निर्भर छ, तर वर्तमानमा, अफगानिस्तान एक आर्थिक संकटको सामना गरिरहेको छ ।

स्थिति यतिसम्म दयनीय बनेको छ कि सरकारी कर्मचारीहरुले लामो समयदेखि तलब पाउन सकेका छैनन् । मानिसहरु खाद्य वस्तुहरु किन्नका लागि पनि कठिनाईको सामना गर्दै छन् । नवनिर्वाचित तालिबान शासनका कार्यवाहक विदेश मन्त्री आमिर खान मुत्ताकीले एक पत्रकार सम्मेलनमार्फत सबैलाई धन्यवाद दिएका हुन् ।

तालिबानले अफगानिस्तानले पाउने जति सहयोग बुद्धिमानीसाथ खर्च गर्ने बताएको छ । उनले सहयोग गरिबी उन्मूलनको लागी प्रयोग गरिने जानकारी दिएका हुन् । मुत्ताकीले भने, ‘हामी अफगानिस्तानलाई करिब एक अर्ब डलर सहयोग दिने विश्व प्रतिज्ञाको लागी धन्यवाद दिन्छौं र उनीहरुलाई सहयोग जारी राख्न आग्रह गर्दछौं ।’

उनले थप्दै भने, ‘इस्लामिक इमिरेटले यो सहयोग पूर्ण रुपमा पारदर्शी ढंगले गरीब जनतालाई प्रदान गर्ने प्रयास गर्नेछ ।’ अमेरिकालाई सम्बोधन गर्दै मुताकीले तालिबानको प्रशंसा गर्न पनि भनेका छन् । उनले अमेरिकाले तालिबानलाई उनीहरुको सेना फिर्ता लिन र हजारौं मानिसहरुलाई बाहिर निकाल्न अनुमति दिएकोमा प्रशंसा गर्नुपर्ने उनको तर्क रहेको छ ।

आफ्नो सम्बोधनमा उनले भने, ‘अमेरिका एउटा ठूलो देश हो र उनीहरुको मन पनि ठुलो हुनुपर्छ ।’ मुताकीले पाकिस्तान, कतार र उज्बेकिस्तान जस्ता देशहरु बाट सहयोग पाइसकेको जानकारी दिएका छन् । सहायता कसरी र कती मिल्यो भन्ने बारेमा उनले विस्तृत रूपमा व्याख्या गर्न मानेका छैनन् ।

उनले तालिबान सरकारले कोरोना भाइरसको खोपको सम्बन्धमा चिनियाँ राजदूतसँग कुरा गरिसकेको बताएका छन् । त्यसबाहेक अन्य मानवीय सहायताका लागि चिनियाँ राजदूतलाई पनि सम्पर्क गरीएको छ । उनले दाबी गरे कि चीनले १५ लाख डलर सहयोग गर्ने वाचा गरेको छ ।

तालिबान अफगानिस्तानमा पुनः फर्केपछि विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले अफगानिस्तानलाई दिँदै आएको आर्थिक सहयोग रोकेको छ । अर्कोतिर अमेरिकाले झण्डै १० अर्ब डलर फ्रिज गर्दिएको छ ।

 

सम्बन्धित खबरहरु