काठमाडौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयुक्त सरकार अहिलेसम्मकै गैर जिम्मेवार बनेको दावी गरेको छ ।

संसद अवरोधको कारणले बजेट समयमा पारित नभएको भ्रम सिर्जना गर्न सरकार र सभामुख अहिलेसम्मकै गैरजिम्मेवार र उदासिन बनेको एमालेको ठहर छ ।

महासचिव ईश्वर पोखरेलले बुधबार जारी गरेको प्रेस वक्तव्यमा बजेट सरकारकै प्राथमिकतामा नरहेकोमा खेद प्रकट गरिएको उल्लेख छ ।

‘यतिबेला सरकार प्रतिपक्षको अवरोधका कारणले बजेट समयमा पारित नभएको जस्तो गरी भ्रम सिर्जना गरिररहेको छ ।

जबकि प्रतिनिधिसभाको बैठक शुरु भएको लामो समयसम्म सरकारका लागि बजेट प्राथमिकताको विषय नै बनेन,’ हठात संसद अधिवेश अन्त्य गरेर दल फुटाउने अध्यादेश ल्याईयो वक्तव्यमा भनिएको छ ।

३० भदौभित्रै बजेट पारित गर्नुपर्ने बिर्सेर संसद बैठक ४ असोजमा सारिएको भन्दै एमालेले आपत्ति समेत जनाएको छ ।

‘आफूलाई इच्छा लागेको विजनेस स्वेच्छाचारी ढंगले अघि बढाउने सरकारले भदौ ३० भित्र बजेट पारित गरिसक्नुपर्ने विषय बिर्सेझैं हाउस असोज ४ गते किन सारियो ? वक्तव्यमा प्रश्न गरिएको छ ।

सरकार र सभामुखका कारण नै प्रतिनिधिसभा बैठक अवरोध गर्नुपरेको एमालेको ठहर छ । ‘सरकार र सभामुखका तर्फबाट भएका अनुचित र गैरकानूनी कार्यका कारणले नै प्रतिनिधिसभामा असहज स्थिति सिर्जना भएको छ,’ पोखरेलद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

गत २३ भदौदेखि एमालेले प्रतिनिधिसभा अवरोध गर्दै आएको छ । २५ भदौमा बजेट अध्यादेश विधेयक पेश भए पनि बजेट भने पारित हुन सकेको छैन । बजेट पारित नभएपछि राज्यकोष सरकारले खर्च गर्न नपाउने स्थिति आएको छ ।

निर्वाचन क्षेत्र स्तरिय रणनीतिक सडक र पालिका जोड्ने पहुँचमार्ग लगायतका १४०० भन्दा बढी विकास आयोजना कटौती गरेर सरकारले गैरजिम्मेवारी देखाएको एमालेको ठहर छ ।

सम्बन्धित खबरहरु