दैलेख । गुराँस गाउँपालिकामा एक शिक्षकको शब्दमा व्यक्त नै गर्न नसक्ने तरिकाले ज्यान लिइएकोछ ।

गाउँपालिकाको छोटेपोखरामा पढाउँदै आएका शिक्षक नगेन्द्र बिसीको ज्यान लिइएको हो ।

प्रहरीले शंकास्पद दुई व्यक्तिलाई नियन्त्रणमा लिएको छ । गुराँस गाउँपालिका–८ छोटेपोखरास्थित मालिका माध्यमिक विद्यालयमा पढाउँदै आएका शिक्षक विसीको ज्यान लिइएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिको विवरण सार्वजनिक गरेको छैन ।

‘घटनामा अतिधारिलो हतियार प्रयोग भएको देखिन्छ’, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुपराज श्रेष्ठले भने, ‘घटना भएपछि शंकास्पद देखिएका दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धानसहितको टोलीले दैलेख पुर्‍याउँदैछ ।’

प्रमुख श्रेष्ठका अनुसार ती व्यक्ति शिक्षकको ज्यान लिइनुपूर्व रातिसँगै भएको खुलेको छ ।

‘नियन्त्रणमा लिएका व्यक्ति र मृतक शिक्षकसँग राति सँगै भएको खुल्न आएको छ’, श्रेष्ठले भने, ‘घटनास्थलको प्रकृति र ती व्यक्तिहरूबाट थप प्रमाण भेटिएकाले पनि अनुसन्धानपछि मात्रै घटनाको वास्तविक तथ्य खुल्नेछ ।’

दैलेख सदरमुकामबाट घटनास्थलको दूरी झण्डै पाँच घण्टाको रहेकाले पनि अनुसन्धान अधिकृत जिल्ला नफर्कदासम्म घटनाको वास्तविकता अहिले नै बताउन नमिल्ने श्रेष्ठ बताए ।

‘तथ्य नजिक प्रहरी पुगेको छ, केही दिनमा वास्तवकिता सार्वजनिक गर्छौँ’, श्रेष्ठले भने ।

शिक्षक बिसी स्कुल वरण्डामा मृत अवस्थामा मंगलबा बिहान फेला परेको थिए । घटना लगत्तै दैलेख प्रहरीले प्रहरी निरीक्षकको कमाण्डमा अनुसन्धान टोली छोटेपोखरा पठाएको थियो । मृतकको परीक्षणका लागि जिल्ला अस्पताल दैलेख लगिएको छ । रासस

सम्बन्धित खबरहरु