काठमाडौं । अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको खैबर पख्तुनख्वा (केपीके) प्रान्तमा बुधबार भएको चरमपन्थी कारबाहीमा सात पाकिस्तानी सैनिक शहीद भएका छन् ।
सो घटनामा पाँच जना चरमपन्थी पनि मारिएको जानकारी दिइएको छ । पाकिस्तानी सेनाको इन्टर सर्भिस पब्लिक रिलेशन्स (आईएसपीआर) को एक बयान अनुसार चरमपन्थी र पाकिस्तानी सेना बीचको मुठभेड एक निजी कम्पाउन्ड नजिकै भएको थियो ।
त्यहाँ पाकिस्तानी सेनाका सात सैनिक शहीद भएका हुन् । लुकेका पाँच चरमपन्थीहरुलाई सेनाले सिध्याएको बयानमा बताइएको छ ।
खैबर पख्तुनख्वाका मुख्यमन्त्री महमूद खानले सैनिकहरु शहीद भएकोप्रति दुःख व्यक्त गरेका छन् ।
उनले सम्पूर्ण देश चरमपन्थबिरूद्ध लड्न सेनाको साथमा भएको बताएका छन् । तालिबान अफगानिस्तानमा आएपछि पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तहरुमा यस्ता घटनाहरु बढेका छन् ।
गत जुलाईमा खैबर पख्तुनख्वामा भएको कारबाहीमा नौ चिनियाँ सहित कम्तीमा १३ जनाको मृत्यु भएको थियो ।
माथिल्लो कोहिस्तान जिल्लामा निर्माणाधीन दासु बाँध स्थलमा चिनियाँ इन्जिनियर र कामदार बोकेको बसमाथि सो घटना घटाइएको थियो ।