काठमाडौ । बिहीबारबाट सरकारले बजेट खर्च गर्न नपाउने अवस्था ल्याएर अघिल्लो दिन एकै दिन सरकारी कोषबाट १५ अर्ब निकालिएको छ ।

सरकार र प्रतिपक्षको किचलोमा बजेट पर्दा बजेट खर्च नै नहुने अवस्था आएसँगै खर्च गर्न भनेर अघिल्लै दिन उर्दी गरेर नै रकम बैकहरुबाट निकालियो ।

यो इतिहासकै एकै दिन खर्च भएको धेरै रकम हो । बुधबार मात्र सरकारले एकै दिन करीब १५ अर्ब रुपैयाँ खर्च गरेको प्रमाणित हुन आएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार बुधबार सरकारी कोषबाट १४ अर्ब ८७ करोड ८ लाख रुपैयाँ निकालिएको छ । यसरी खर्च भएको रकममध्ये चालु खर्चमा ८ अर्ब ७० करोड र वित्तीय व्यवस्थामा ६ अर्ब रुपैयाँ खर्च भएको छ ।

पुँजीगत खर्च मात्रपनि १६ करोड भएको तथ्यांकमा देखिएको छ । अब संसदको अर्को बैठक ४ असोजमा बोलाइएको छ । यो अवधिमा सरकारले बजेट खर्च गर्न पाउँदैन ।

१५ जेठमा अध्यादेशबाट आएको बजेट निष्क्रिय हुने समय नजिकिँदै गर्दा सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो । पेश्की विधेयकपनि पेश नगरिकन सरकारले गैरजिम्मेवारी देखाएको छ ।

यही मौकामा इतिहासकै सबैभन्दा धेरै रकम एकै दिन निकालेर अर्कौ शंकास्पद काम गरेको छ ।

बजेट सम्बन्धित विधेयक संसदबाट पास भएपछि मात्र सरकारले बजेट खर्च गर्न सक्ने बाटो खुल्छ । प्रतिस्थापन विधेयक पनि पास नहुने अवस्था आएमा भने सरकारले अर्को विकल्प खोज्नु पर्ने हुन्छ ।

यसअघि बुधबार नै महालेखा नियन्त्रक कार्यालयले संसदमा प्रतिस्थापन विधेयक जानु अगाडि रोकेको सरकारी भुक्तानी फुकुवा गरेको जानकारी गराएको थियो ।

महालेखा नियन्त्रक कार्यालयले २४ भदौबाट लागु हुने गरी तीन दिनका लागि अनिवार्य दायित्वबाहेकका सबै भुक्तानी रोक्न भनेको थियो । यसरी रोकिएको भुक्तानी फुकुवा भएसँगै बुधबार एकै दिन ठूलो रकम खर्च भएको छ ।

चालु खर्चमा भएको अधिकांश रकम तलव भत्तामा खर्च हुन्छ । सामान्यतया सरकारले तलव भत्ता २८–२९ गते नै खातामा पठाउने हुँदा पछिल्लो अवरोधले कर्मचारीको भदौ महिनाको तलव प्राप्तिमा भने समस्या नपर्ने बताइएको छ । तर यो रकम के कतिका लागि दिइएको हो । महालेखाले रहेरिरहेको अधिकारीहरुले बताएका छन् ।

सम्बन्धित खबरहरु