काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आजदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन थालेको छ । यसअघि नै असोज १ गतेबाट भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको त्रिविले आजदेखि कक्षा सञ्चालन गरेको हो ।

त्रिविले सम्बद्ध क्याम्पस, विभाग र स्कुलहरूमा विद्यार्थीहरूको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरी स्थानीय निकायसँग समन्वय गरेर जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्दै कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

कक्षा सञ्चालनका लागि त्रिवि कार्यकारी परिषद्ले भदौ २७ गते निर्णय गरेको थियो । त्रिविले जारी गरेको सूचनामा स्थानीय तहले तोकेको समय सीमा र मापदण्डभित्र रहने गरी कक्षा सञ्चालन गरिने स्पष्ट गरिएको छ ।

यो पनि, सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विद्यालयहरूमा इमेलमार्फत प्रश्नपत्र पठाएर कक्षा १२ को परीक्षा सञ्चालन भइरहेको छ ।

कोभिड १९ का कारण स्थगित भएको कक्षा १२ को परीक्षा होम सेन्टरबाटै भदौ ३० गतेबाट सुरु भए पनि सबै विद्यालयमा प्रश्नपत्र पुर्‍याउन सम्भव नभएपछि इमेलमार्फत विद्यालयहरूमा प्रश्नपत्र पठाएर परीक्षा सञ्चालन भइरहेको राष्ट्रिय परीक्षा बोर्ड डडेलधुराका प्रमुख नारदप्रसाद जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो जसरी भए पनि परीक्षा सञ्चालन गर्नुपर्ने अवस्था आयो सबै परीक्षा केन्द्रमा पेपर पुगाउन सम्भव नभएकोले राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले इमेल मार्फत प्रश्न पत्र पठाउने गरेको छ ।

परीक्षा सञ्चालन हुनुभन्दा ३० मिनेट अगाडि इमेलमार्फत प्रश्नपत्र पठाउने गरेको राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीका शाखा अधिकृत दिलबहादुर नेपालीले बताउनुभयो ।

उहाँले भन्नुभयो सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका २ सय ६२ केन्द्रमध्ये ७८ वटा केन्द्रमा पेपर पुगेको र बाँकी १ सय ८४ वटा परीक्षा केन्द्रमा इमेलमार्फत पेपर पठाएर परीक्षा सञ्चालन गरिरहेका छौ ।

सम्बन्धित खबरहरु