काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले नयाँ पार्टी कार्यालय उद्‍घाटन गरेको छ ।

अध्यक्ष माधवकुमार नेपालले शुक्रबार बिहान कार्यालयको उद्घाटन गर्नुभयो । नयाँ बानेश्वरस्थित आलोकनगरमा सो पार्टीको कार्यालय रहेको छ ।

पार्टी कार्यालय सञ्चालनका अवसरमा अध्यक्ष नेपालले जनतालाई दशथरी कुरा गरेर नअल्मल्याउने पनि बताउनुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेता नेपालले राष्ट्र र जनता नै पार्टीका गतिविधिको केन्द्रमा रहने विश्वास दिलाउनुभयो ।

कुनै पद प्राप्तिका लागि पार्टी गठन नभएको बताउँदै उहाँले भन्नुभयो, ‘देश र जनताप्रति समर्पित हुने हो ।

यही भावनाअनुसार अगाडि बढ्ने हो ।’ उहाँले सबै सकरात्मक शक्तिसँग पार्टीले हातेमालो गर्ने र पाँच दलीय गठबन्धनलाई चुनावसम्म नै लैजाने पनि स्पष्ट पार्नुभयो ।

एकीकृत समाजवादीको पार्टी कार्यालय रहेको घर तीन तले छ । अर्को निर्माणाधीन घर पनि भाडामा लिएइएको छ ।

एकीकृत समाजवादीका नेता बेदुराम भुसालले पार्टी कार्यालयको मासिक भाडा तीन लाख रुपैयाँ रहेको जानकारी दिनुभयो ।

तपाईंलाई जानकारी गराउ कि पार्टी कार्यालय रहेको घर पूजा थापा बस्नेतको नाममा रहेको छ ।

नेता भुषालले घरबेटी आफ्नो पार्टीनिकट नरहेको स्पष्ट पार्नुभयो । तीन तले घरमा १२ वटा कोठा छन् भने अर्को घरको पहिलो तलामा तीन कोठा बनिसकेका छन् ।

माथिल्लो तलामा हल बनाउने काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो । एक फरक प्रशंगमा नेता नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने उल्लेख गर्नुभयो ।

सम्बन्धित खबरहरु