काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकालाई १७५ रनको लक्ष्य दिएको छ ।

शुक्रबार मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको नेपालले ४८ ओभरमा अलआउट हुँदै १७४ रन बनाएको हो ।

राससका अनुसार नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।

उनले १०५ बलमा ३ चौका प्रहार गरे । कप्तान मल्ल एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडीसमेत बनेका छन् ।

ज्ञानेन्द्रले १५ खेलमा ३ अर्धशतकसहित कूल एक हजार ३६६ रन बनाएका छन् । ज्ञानेन्द्र अघि पूर्वकप्तान पारस खड्काले १० खेलमा एक हजार ३१५ रन बनाएका थिए ।

मल्लले ३६६ रन जोड्दै सर्वाधिक रन बनाउने खेलाडी बनेका हुन् । ओपनर कुशल भुर्तेलले ३६ रन जोड्दा डेब्यु खेलाडी गुलशन झाले २८ रन बनाए ।

त्यस्तै करण केसीले १२, विनोद भण्डारीले १० तथा रोहित पौडेल र सोमपाल कामी दुई÷दुई रनमा आउट भए ।

ओपनर आसिफ शेख पनि ३ रनमा आउट भए । सन्दीप लामिछाने ११ रनमा आउट हुँदा सुशन भारीले अविजित २ रन जोडे ।

अमेरिकाका कप्तान सौरभ नेत्राभाल्करले ४ विकेट लिए भने केली फिलिपले ३ विकेट लिए ।

त्यस्तै करिमा गोर, एल्मोर हुचिन्सन, नास्टुश केनिजेगेले एकएक विकेट लिए ।

नेपालले यसअघि सोमबार भएको पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित हुन पुगेको थियो ।

सम्बन्धित खबरहरु