काठमाडौं । संसदको गतिरोध अन्त्य गर्नका लागि सत्तापक्ष र प्रतिपक्षबीच भेटघाट भएको छ ।

गतिरोध अन्त्यका लागि कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विपक्षी दलका नेता केपी शर्मा ओलीसँग भेटघाट गर्नुभएको हो ।

बिहीबार नेकपा एमालेका अध्यक्ष ओलीलाई भेट्नु भएका कानूनमन्त्री कार्कीले बजेटसँगै महत्वपूर्ण अध्यादेशहरु पास गर्नुपर्ने भएकाले संसद सुचारु गर्नुपर्ने तर्क गर्नुभयो ।

अध्यक्ष ओलीसँग आफ्नो लामो छलफल भएको उल्लेख गर्दै उहाँले संसद सुचारु गर्ने विषयमा चर्चा गरिएको जानकारी दिनुभयो ।

अध्यक्ष ओलीसँग उहाँले बजेट पास गर्ने र अघिल्लो सरकारले ल्याएका धेरै महत्वपूर्ण अध्यादेशहरु पास गर्नेबारे पनि चर्चा भयो । त्यसलाई चाँडै पारित गरौं भनेर आग्रह गरिएको उहाँले बताउनुभयो ।

तर एमालेले भने यथास्थितिमा ४ असोजका लागि बोलाइएको बैठकमा पनि अवरोध कायमै राख्ने स्पष्ट पारेको छ ।

पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर दल विभाजनमा भूमिका खेलेको भन्दै एमालेले सभामुखमाथि प्रश्न उठाएर २३ भदौयता संसदमा नाराबाजी गर्दै आएको छ ।

एमालेको नाराबाजीका बीच राजनीतिक दलसम्बन्धी ऐन र बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश भयो ।

तर ३० भदौभित्र प्रतिस्थापन विधेयक पास नभएका कारण सरकारले खर्च गर्न नपाउने अवस्था आएको छ ।

सम्बन्धित खबरहरु