काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संयुक्त अरब इमिरेट्स (यूएई)का लगानीकर्तालाई नेपालको ऊर्जा, कृषि तथा पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

मन्त्री भुसालसँग शिष्टाचार भेटका लागि शुक्रबार मन्त्रालय पुग्नुभएका नेपालका लागि यूएईका राजदूत सईद हम्दन अल न्वावीलाई नेपाल लगानीका लागि आकर्षक गन्तव्य रहेको सन्देश लगानीकर्तामाझ पु-याउन आग्रह गर्नु भएको हो ।

भेटका क्रममा मन्त्री भुसालले नेपालमा विदेशी लगानीकर्ताका लागि उपलब्ध अवसरबारे जानकारी गराउनुभएको थियो ।
उहाँले त्यहाँ कार्यरत करिब दुई लाख नेपालीले सम्मानजनक सुविधा पाउने विश्वास व्यक्त गर्नुभएको थियो ।

उहाँले कोभिड–१९ महामारी पनि त्यहाँ रहेका नेपालीलाई रेखदेख गरेको भन्दै मन्त्री भुसालले यूएई सरकारप्रति धन्यवाद व्यक्त गर्नुभयो । भेटमा उहाँहरूबीच नेपाल र यूएईबीच रही आएको आपसी सम्बन्धमा विविध पक्षमा छलफल भएको छ ।

न्वावीले आगामी नोभेम्बर १५ देखि १८ मा अबुधाबीमा हुने ‘इन्टरनेसनल पेट्रोलियम एक्जिविसन एन्ड कन्फ्रेरेन्स’मा सहभागिताका लागि मन्त्री भुसाललाई निमन्त्रणा पत्र हस्तान्तरण गर्नुभएको छ ।

सो अवसरमा राजदूत अल–न्वावीले आफ्नो कार्यकालमा द्विपक्षीय व्यापार विस्तार हुनुका साथै आपसी सम्बन्ध विस्तारमा थप योगदान पुगेको बताउनुभयो । सो अवसरमा ऊर्जा मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीको सहभागिता थियो ।

सम्बन्धित खबरहरु