काठमाडौं । साना बालबालिकाहरूले हातमा सिक्का खेलाउँदै त छैनन् ? होस गर्नु होला है ! सिक्का मुखमा लगरे घाँटीमा अड्काउन पनि सक्छन् ।

झापामा यस्तै एक बालिकाको घाँटीमा सिक्का अड्किएपछि अप्रेसन गरेर त्यो सिक्का झिक्नु परेको छ ।झापा कचनकवल–४ की चार वर्षीया नन्दनी सिंहको घाँटीमा भारतीय ५० पैसाको सिक्का अड्किएको थियो ।

अभिभावकले हतारहतार विराटनगरको नोबेल अस्पताल उपचारका लागि लगेपनि कोरोना परिक्षण गर्न भनेर एक दिन राखेर भोलिपल्ट अन्यत्र रेफर दिएको जनाइएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका परिवारले त्यहाँको आन्दोलन देखेर बालिकालाई घरमा नै ल्याएका थिए ।

यो विषय सार्वजनिक भएपछि बालिकाको घाँटीमा अड्किएको सिक्का भद्रपुरस्थित ओमसाई हस्पिटलका चिकित्सकहरूको टिमले निकाल्ने भएपछि अभिभावकले ओमसाई हस्पिटलमा ल्याएको र तत्काल अप्रेसन गरेर सिक्का झिकिएको ईएनटी सर्जन डा. निरज रौनियारले बताउनु भएको छ ।

यो झिक्ने प्रक्रियालाई ‘रीजीड ईसो फेगोस्कोपी एन्ड क्वाईन रीमूभ’ भनिने पनि जनाइएको छ ।

सिक्का निलेको तीन दिनपछि मात्र बालिका यहाँ अस्पतालमा आएको र सिक्का धेरै नै भित्र पसिसकेको अवस्था रहेको पनि उहाँले बताउनु भयो । अस्पताल ल्याउनसाथ हामीले अप्रेसन गरेका थियौं र सफलता पूर्वक सिक्का निकाल्न सफल भयौ, उहाँले भन्नुभयो ।

केही ढिला भएको भए निक्कै नै समस्या हुने अवस्था रहने थियो, उहाँको भनाइ छ । बालिकाले घाँटीमा सिक्का अड्किएको तीन दिनपछि मात्र यो अस्पताल आइपुगेको बताइन्छ ।

बालिकाले घाँटीमा शनिबार सिक्का अड्किएको थियो । सोमबार अप्रेसन गरेर सिक्का झिकेर बालिकाको डिस्चार्ज गरिएको ओमसाई पाथिभरा हस्पिटलले बताएको छ ।

सम्बन्धित खबरहरु